Logo

प्रेम आले र शेरबहादुर कुँवर आलोपालो मन्त्री



काठमाडौं, २२ भाद्र । नेकपा एकीकृत समाजवादीबाट सरकारमा जानेहरुको लगभग टुंगो लागिसकेको छ । नेकपा एसको हाइकमान्ड बैठकले मन्त्रिहरुको अन्तिम नामावली टुंगो लगाउने भएको छ ।

मन्त्रीको दौडमा प्रतिनिधि सभाका २३ मध्ये २१ जना रहेका छन् । सबैको पालो पुर्याउने गरी अध्यक्ष माधवकुमार नेपालले व्यवस्थापन गर्ने भएका छन् । आलोपालो मन्त्री बनाएर सहमति निकाल्ने तयारी नेपालले गरेका छन् ।

सुदूरपश्चिममा नेकपा एस सबैभन्दा बढी शक्तिशाली देखिएको छ । त्यहाँको प्रदेशसभामा पनि नेकपा एस पहिलो ठूलो दल बनेको छ । सुदूरपश्चिमका प्रतिनिधि सभा सदस्यले पनि अन्तिम समयमा माधव नेपाललाई साथ दिए ।

सांसद प्रेम आलेले महत्वपूर्ण भूमिका निभाएर माधव नेपालको साथमा बढी सांसद रहने अवस्था बनाए । आलेलाई मन्त्री बनाउनैपर्ने वाध्यतामा अध्यक्ष नेपाल रहेका छन् ।

तर, सुदूरपश्चिम प्रदेशबाट शेरबहादुर कुँवरको पनि दाबी देखिएको छ । राष्ट्रियसभाका निर्वाचित सांसद कुँवर अछामका हुन् । उनको पदावधि २० फागुन २०७८ सम्म छ । त्यसैले ६ महिना उनलाई मन्त्री बनाउने प्रयास समेत भएको छ ।

प्रेम आलेलाई पछि बनाउने गरी सहमति गर्न खोजिएको बुझिएको छ । तर, आले पहिलो लटमै मन्त्री बन्ने प्रयासमा छन् । नेकपा एसभित्र आले र कुँवरलाई आलोपालो गराउने प्रयास पनि चलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot