Logo

‘पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता’



सिन्धुपाल्चोक,२२भदौ: राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले निर्धारित समय भित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बलेफी तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिता दिएको बताए ।

उनीसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्काेट सिन्धुलीका प्राविधिक सहितको टोलिले सो सडकखण्डको निरीक्षण गरेको हो ।

टोलीले अरनिको राजमार्ग अन्तरगतको बलेफी बजारदेखि नौबिसे सडक खण्ड र जलबिरेदेखि कात्तिके सडक खण्डको जुगल गाउँपालिका अन्तर्गतको ढाँडे हुँदै गणेश खोलासम्मको निरीक्षण गरेको थियो । यस क्रममा निर्माणमा थुप्रै सुधारको आवश्यकता औंल्याइएको छ । सडक डिभिजन कार्यालयका इञ्जिनियर मैना राईले सो क्षेत्रमा लगातार सडक भासिने, पहिरो खस्ने र लगाइएको तार जाली पल्टिने घटना दोहोरिएको जनाउँदै माथिल्लो भागदेखि नै ठूलो क्षेत्र भासिएकोले बेलैमा सतर्क हुनु पर्ने अबस्था आएको जानकारी दिए ।

भूकम्पले थिलथिलो बनाएको जिल्लाका पहाडमा यस बर्ष पनि ठूला साना सयौं पहिरो र बाढीका कारण थुपै भित्रि सडकहरु अबरुद्ध हुन पुगेका छन् ।-रासस

नोटः यसअघि प्रकाशित समाचारमा रामेश्वर फुयाँलको तस्विर परेकोले सच्चाइएको छ



प्रतिक्रिया दिनुहोस्