Logo

३९ वर्षको कोमा बसाईपछि फ्रान्सका पूर्व–फुटबलर आडम्सको ७३ वर्षको उमेरमा निधन



एजेन्सी, २२ भदौ । फ्रान्सको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी जेन पिएर आडम्सको ७३ वर्षको उमेरमा निघन भएको छ । ३९ वर्ष लामो कोमा बसाइपछि उनको मृत्यु भएको हो ।सन् १९८२ मा घुँडाको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका आडम्स अचेत बनाउन प्रयोग गरिने औषधिको मात्रा नमिलेपछी उनको चेत खुलेको थिएन ।

उनले नीस र पीएसजी क्लबका लागि रक्षकको भूमिकामा १४० भन्दा बढी खेल खेलेका थिए ।दुवै क्लबले उनको मृत्युपछि वक्तव्य जारी गरेका छन् । आडम्सले फ्रान्सका लागि सन् १९७२ देखि १९७६ सम्म २२ वटा अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

एनस्थीजीया दिने चिकित्सक र प्रशिक्षार्थी चिकित्सकका केही गल्तीका कारण आडम्सलाई हृदयाघात भएको र उनको मस्तिष्कमा पनि असर गरेको बताइएको छ ।सन् १९९० को दशकको मध्यतिर दुवै चिकित्सकलाई सो गल्तीका लागि एक महिनाको निलम्बन र ७५० यूरो जरिवानाको सजाय दिइएको थियो । आडम्सलाई १५ महिनापछि अस्पतालबाट घर पठाइएको थियो जहाँ उनकी पत्नी बेर्नाडेटले उनको हेरचाह गरिन् । उनले चार दशक प्रत्येक दिन पतिको स्याहार गरेको भन्दै उच्च प्रशंसा गरीएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्