Logo

श्रीलंकामा संकटकाल लागु



काठमाडौँ, २२ भदौ: श्रीलंकामा खाद्यान्न आपूर्ति सहज बनाउन संकटकाल लागु गरिएको छ । प्रमुख खाद्य उत्पादनको संकटकाबीच मूल्यवृद्धि रोक्न र खाद्य सञ्चय गर्न भन्दै राष्ट्रपति गोताबाया राजापाक्षले गत अगस्ट ३० मा संकटकालको घोषणा गरेका थिए । श्रीलंकाका राष्ट्रपति राजापाक्षको घोषणालाई सोमबार संसद्ले अनुमोदन गरेको हो । २२५ सिट रहेको श्रीलंकाको संसदमा संकटकाल लागु गर्ने पक्षमा १३२ जना सांसदले मत हालेका थिए भने ५८ जना सांसदले विपक्षमा मत खसालेका थिए।

श्रीलंकामा चिनी, प्याज, आलु, दूध पाउडर, खाना पकाउने ग्यासलगायत अत्यावश्यक सामग्रीहरूमा मूल्यवृद्धि भएको छ । भारी ऋण चुक्ताको साथसाथै पर्यटन र निर्यातमा गिरावटका कारण श्रीलंकाले विदेशी मुद्रा संकटको पनि सामना गरिरहेको छ ।

संकटकालीन कानुनले मानिसलाई बिनापूर्जी नै पक्राउ गर्न, सम्पत्ति जफत गर्न, कुनै पनि परिसरमा प्रवेश र खोजबिन गर्न, कानुन निलम्बन गर्न र आदेश जारी गर्न अधिकारीहरूलाई सक्षम बनाएको छ । यसबारेमा अदालतमा प्रश्न गर्न सकिने छैन । यसरी आदेश जारी गर्ने अधिकारीहरू मुद्दा–मामिलाबाट पनि मुक्त हुन्छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्