Logo

ओली भारतप्रति कठोर, चीनप्रति नरम



काठमाडौं, २२ भाद्र । सरकारले चीनसँगको सीमा समस्याबारे यकिन पत्ता लगाउन अध्ययन कमिटी गठन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे । उनले सिधै चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे ।

चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन कमिटी बनाएको हो । तर, ओलीले चीनले सीमा मिचेको छैन भन्नुमा उनी प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्रालयले नै विज्ञप्ति जारी गरी त्यस्तै भनाई पनि कारण हो । ओलीले प्रधानमन्त्री देउवामाथि भारतको नाम नलिई कसैलाई खुशी पार्न अध्ययन कमिटी गठन गरेको आरोप लगाए ।

ओली फेरि चीनप्रति नरम देखिएका छन् । उनले सीमा समस्या उठ्दा चीनको बचाऊ गर्ने गरी बोलेका थिए ।

तर, ओली भारतप्रति भने गरम देखिएका छन् । उनले सुदूरपश्चिम क्षेत्रमा भारतीय हेलिकोप्टर उडेको विषय उठाएका छन् । यसको सरकारी तहबाट कुनै औपचारिक पुष्टि भने भएको छैन । मंगलबार पोखरामा बोल्दै भारतले हेलिकोप्टर नेपाली भूभागमा उडाउँदा पनि सरकार तमासे भएको आरोप लगाए ।

ओलीले जयसिंह धामी तुइनमा खसालेर वेपत्ता भएको घटनामा पनि भारतप्रति कडा अभिव्यक्ति दिइरहेका छन् । तुइन घटनामा सरकारले कुटनीतिक नोट जारी गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा तुइन प्रकरणमा भारतको एसएसबी समेत उपस्थित भएको भनिएको छ ।

विगतमा पनि ओलीले भारतप्रति कडा अभिव्यक्ति दिएर लोकप्रीयता बढाउने काम गरेका थिए । उनले अहिले त्यही रणनीति अपनाएको विश्लेषण भइरहेको छ । तर, उनी चीनप्रति नरम नीति लिइरहेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्