Logo

कवि रेग्मीलाई बीपी सम्मान



काठमाडौं, २३ भदौ । यसवर्षको बीपी साहित्य सम्मान पुरस्कार कवि मदन रेग्मीलाई दिइने भएको छ । जननायक बीपी कोइराला स्मृति ट्रष्ट नामक संस्थाले प्रत्येक वर्ष दिँदै आएको पुरस्कार यस वर्ष कवि रेग्मीलाई दिने निर्णय गरेको हो । पाँच दशकभन्दा पहिलेदेखि नेपाली साहित्य क्षेत्रमा क्रियाशील रेग्मीका कविता संग्रह र अन्य विभिन्न विधाका कृति प्रकाशित छन् ।

रेग्मीको योगदानको उच्च कदर गर्दै उहाँलाई बीपी साहित्य सम्मान दिने निर्णय गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ । त्यस्तै, सोही संस्थाले यस वर्षको बीपी सेनानी पुरस्कार भक्तपुरका प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थलाई दिने निर्णय गरेको छ ।

कायस्थले लामो समयसम्म जेल र निर्वासन ब्यहोरेका थिए । यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । दुवै पुरस्कार हिजो बीपी जयन्तीका दिन अर्थात् २४ भदौमा दिइने भनिए पनि मुलुकको पुरानो र जिम्मेवार राजनीतिक दलका हुन बाँकी वडा तहका अधिवेशनलगायतका कारणले एक सातापछि मात्र हुने पुराना नेता पुरुषोत्तम बस्नेतले बताए ।

बीपी साहित्य सम्मान र सेनानी पुरस्कारबाट यसअघि विक्रम सम्वत् २०७७ मा ज्ञानमणि नेपाल र होमनाथ दाहाल, २०७६ मा तिलविक्रम नेम्वाङ र मधुकान्त सिंह, २०७५ मा रोचक घिमिरे र स्व. चक्रप्रसाद बाँस्तोला, २०७४ मा प्रा.अभि सुवेदी र तीर्थराज चैतु तथा २०७३ मा भुवन ढुंगाना र श्यामलाल श्रेष्ठलाई दिइएको थियो ।

Photo Source: Highway samachar 



प्रतिक्रिया दिनुहोस्