Logo

न्यायाधीशका चालक र अंगरक्षकमाथि अनुसन्धान जारी



विराटनगर, २३ भाद्र। न्यायाधीशको कारको ठक्करबाट महिलाको सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश ईश्वर पराजुलीले प्रयोग गर्ने बा १४ च ६०१६ नम्बरको कार न्यायाधीशका अंगरक्षक विन्दकुमार सिंहले सिक्न खोज्दा कार अन्यन्त्रीत भएर ठक्कर दिँदा ४२ वर्षीया लक्ष्मी दाहालको मंगलबार साझ मृत्यु भएको थियो ।

नेपाल प्रहरीका हवल्दार रहेका सिंहले कारको चालक चौधरीलाई चाबी मागेर पार्किङ गरेको कार निकाल्न खोज्दा दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ । दाहाल अदालत परिसरभित्र क्यान्टन चलाउँदै आएकी थिइन् । कारले क्यान्टिन भित्र काम गरिरहेको अवस्थामा उनलाई ठक्कर दिएको थियो । ठक्कर दिँदा गम्भीर घाइते भएकी दाहालको उपचारका क्रममा साँझ ५ः१५ बजेतिर कोशी अस्पताल विराटनगरको आकस्मिक कक्षमा मृत्यु भएको थियो। उनको स्थायी ठेगाना धनकुटाको महालक्ष्मी नगरपालिका–१ हो ।

कारले क्यान्टिनको घेराबारा तोड्दै क्यान्टिनभित्र छिरेको थियो । क्यान्टिनमा काम सकेर खाजा खादै गरेको अवस्थामा दाहाललाई ठक्कर दिएको थियो । कारले ठक्कर दिदा प्रहरी हवल्दार सिंहले चलाएका थिए भने कारको सिटको छेउतर्फ चौधरी बसेको बुझिएको छ ।

पक्राउ परेका चौधरीलाई सवारी चालक अनुमति पत्र नभएकालाई सवारी दिएको कसुरमा पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले बुधबार सवारी ज्यान मुद्दामा मोरङ अदालतमा पाँच दिनको म्याद थप गरि घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
लाइसेन्स विना कार चलाएका अंगरक्षक सिंहको कसुर पुष्टि भएमा १० वर्षसम्म कैद हुन्छ । सवारी चलाउन दिनेलाई २ वर्षसम्म कैद सजाय हुन्छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्