Logo

माधव नेपालको शक्ति कति



काठमाडौं, २४ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भएको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको शक्ति अझ स्पष्ट भएको छ ।

प्रतिनिधिसभामा नेकपा एस तेस्रो ठूलो दल बनेको छ । पहिलो ठूलो दल नेकपा एमालेको ९६ सांसद छन् । नेपाली काँग्रेसको ६१ र नेकपा एसको २३ सांसद छन् । तेस्रो ठूलो दलको नेताका रुपमा नेकपा एसका अधयक्ष माधव नेपाल संसदीय राजनीतिमा चतुर ढंगले प्रस्तुत भइरहेका छन् । उनको चार्तुयताले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलिसकेको छ । गण्डकी र लुम्बिनीमा पनि एमाले सरकार ढलेको छ ।

प्रदेश नं १ मा एकीकृत हुँदा कुल ५१ सांसद रहेकोमा एमालेमा ४१ र नेकपा एसमा १० जना लागेका छन् । यो संख्या मुख्यमन्त्रीलाई अल्पमतमा पारेर हटाउन पर्याप्त भएको छ । प्रदेश १ मा १०६ जना स्थानीय निकायका जनप्रतिनिधि नेकपा एसमा लागेका छन् ।

प्रदेश २ मा २१ सांसद मध्ये एमालेमा ८ र नेकपा एसमा १३ जना लागेका छन् । त्यहाँ एमालेभन्दा नेकपा एस प्रदेशसभामा बलियो देखिएको छ । स्थानीय निकायमा ३१५ जना नेकपा एसमा लागेका छन् ।

बागमती प्रदेशमा ५६ प्रदेश सभा सांसदमध्ये ४३ जना एमाले र १३ जना नेकपा एसमा लागेका छन् । स्थानीय निकायका २३६ जनप्रतिनिधि एसमा लागे ।

गण्डकी प्रदेशमा २७ जना प्रदेश सभा सांसदमाध्ये कोहीपनि नेकपा एसमा लागेनन् । मन्त्री पद पाउने सुनिश्चित भएपनि कोहीपनि नेकपा एसमा नलागेको यही एउटा प्रदेश हो । स्थानीय निकायतर्फ ३६ जना जनप्रतिनिधि नेकपा एसमा लागे । त्यहाँ एमालेलाई निकै कम क्षति पुगेको देखिन्छ ।

लुम्बिनी प्रदेशमा ३७ जना नेकपा एमालेका सांसदमध्ये १ जनामात्र नेकपा एसमा प्रवेश गरिन् । लुम्बिनीमा एमालेलाई सबैभन्दा कम क्षति पुगेको छ । त्यहाँ ३३ जना स्थानीय निकायका जनप्रतिनिधि मात्र नेकपा एसमा गएका छन् ।

कर्णाली प्रदेशमा कुनैपनि सांसद नेकपा एसमा गएनन् । यसअघि नै उक्त प्रदेशमा नेकपा एमालेका ४ सांसदले फ्लोर क्रस गरेपछि पदमुक्त भइसकेका छन् । त्यहाँ जनप्रतिनिधिहरु भने उल्लेख्य संख्यामा नेकपा एसमा लागे । सबैभन्दा ठूलो क्षति सल्यानमा परेको छ । ३ सय ५० जना स्थानीय निकायका जनप्रतिनिधिले नेकपा एस रोजेका छन् । सल्यानमा सबैभन्दा बढी १४२ जना नेकपा एसमा प्रवेश गरे ।

सुदूर पश्चिम प्रदेशमा २५ मध्ये १४ सांसद नेकपा एसमा लागे । त्यहाँ नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । २०२ जना स्थानीय निकायका जनप्रतिनिधि नेकपा एसमा लागे ।

यसरी माधव नेपाल तेस्रो शक्तिका रुपमा देखिएका छन् । सुदूरपश्चिममा पहिलो शक्ति बन्न सफल भएका छन् । सुदूरपश्चिम र प्रदेश नं २ मा माधव नेपालको नेकपका एस एमालेभन्दा शक्तिशाली बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot