Logo

काँग्रेसमा विरासतको राजनीति बलियो बन्दै



काठमाडौं, २४ भाद्र । वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइरालाले राणा र राजाको निरंकुशतासँग लड्दै विकास गरेको दल नेपाली काँग्रेस । यी र यस्ता लाखौं नेता कार्यकर्ताले निकै ठूलो संघर्ष गरेर देशको प्रभावशाली पार्टीका रुपमा काँग्रेसलाई स्थापित गरे ।

वीपी र गणेशमानले जेल र निर्वासन दुवै भोगे । महेन्द्रनारायण निधिले पनि निकै ठूलो संघर्ष गरे । कोइरालाले पार्टीका लागि निकै ठूला जोखिमहरु पनि उठाएको इतिहास साक्षी छ । तर, यी नेताहरुले जति संघर्ष नगरेका उनीहरुका छोराछोरी काँग्रेसको राजनीतिमा हावी भए ।

वीपीपुत्र प्रकाश कोइराला राजनीतिमा स्थापित हुन खोजे तर सकेनन् । डा. सशांक कोइराला काँग्रेसका महामन्त्री छन् । उनको महामन्त्रीमा भएको जीतको मुख्य कारण वीपी पुत्र हुनु पनि थियो । काँग्रेसको राजनीतिमा थोरै समयमै माथिल्लो तहमा पुगेका सशांकसँग अनुभवको अभाव टड्कारो देखिएको छ ।

गणेशमान सिंहका छोरा प्रकाशमान सिंह काँग्रेस महामन्त्री भइसकेका छन् । उनी काँग्रेसको तल्लो कमिटी हुँदै लामो मिहेनतपछि महामन्त्री सम्म बने । सिंहले गणेशमानको विरासतका रुपमा पद पाएको चर्चा चल्यो । उनीसँग पिताको जस्तो ठूलो छाति र निडरता नरहेको विश्लेषण हुनेगरेको छ ।

महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधि नेविसंघको राजनीति हुँदै काँग्रेसको उपसभापतिसम्म भए । मधेशमा बलियो पकड भएका महेन्द्रनारायण निधिले काँग्रेसलाई मजबुत बनाउन ठूलो संघर्ष गरे । उनका पुत्र विमलेन्द्रलाई पनि विरासतका रुपमा काँग्रेसको माथिल्लो पदमा पुगेको विश्लेषण हुनेगरेको छ । जति संघर्ष महेन्द्रनारायणले गरे त्यति विमलेन्द्रले गर्नुनपरेकाले यसो भनिएको हो ।

गिरिजाप्रसाद कोइराला तल्लो इकाई देखि माथिल्लो तहसम्मको राजनीति बुझेका थोरै नेतामध्येका थिए । उनले काँग्रेसको राजनीतिमा निकै जोखिम मोलेर काम गरे । जस्तोसुकै आलोचना खेपेर भएपनि पार्टीलाई मजबुत बनाउने कदमहरु चाले । तर, गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले त्यो तहको संघर्ष गर्नुपरेन । बाबुको विरासतका रुपमा उनलाई लाभको पदहरु मिल्यो । सुजातासँग राजनीतिक कठिनाईहरुसँग जुधेको कमै अनुभव रह्यो । जसका कारण उनलाई काँग्रेस नेतृत्वसम्म पुग्ने क्षमता खड्कियो ।

यसरी काँग्रेसको राजनीतिमा विरासतबाट हावी भएकाहरु नेतृत्व तहमा पुग्न संघर्ष गरिरहेका छन् । उनीहरुले आफ्नो क्षमता पनि प्रदर्शन गरिरहेका छन् । तर, कठिन संघर्षका अनुभवहरु नहुँदा कार्यकर्ताले पत्याइसकेका छैनन् ।

काँग्रेसमा दोस्रो पुस्ता विरासतको राजनीतिबाट अगाडि बढिरहँदा तेस्रो पुस्तामा पनि त्यस्तै विरासतको राजनीति गर्नेहरु धमाधम देखिन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवा काँग्रेसको सक्रिय राजनीतिमा आएका छन् । तर, उनीसँग काँग्रेसको तल्लो तहमा काम गरेका र भोगाईका अनुभवहरु छैनन् । बेलायतमा अध्ययन गरेका जयवीरका लागि देशको फरक धरातलमा राजनीतिक संघर्ष सजिलो नहुनसक्छ ।

प्रकाशमान सिंहका छोरा प्रभासमान सिंह पनि तरुण दलको राजनीतिमा सक्रिय भइसकेका छन् । उनी राजनीतिमा आउन खोजिरहँदा चुनौतीहरुको सामना गर्न सक्लान् ? यो प्रश्न तड्कारो देखिएको छ ।

काँग्रेसका कुनै समयका प्रभावशाली नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का पनि सक्रिय राजनीतिमा आइसकेका छन् । खुमबहादुरको परिचय नै साहसी नेताको थियो । त्यो साहस अनुरागले देखाउन सक्ने हुन् ? जुन कठिन संघर्ष खुमबहादुरले गरेर अगाडि बढे पदचाप पछ्याउन अनुरागका लागि सजिलो छैन ।

नेपाली काँग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापा पनि काँग्रेसको राजनीतिमा सक्रिय छन् । उनी धनकुटाबाट वडा तहबाट प्रतिनिधि चयन भएर बढेका छन् । पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका नाति सिद्धार्थले राजनीतिमा कस्तो प्रस्तुती गर्लान् ? चासो बनेको छ ।

 

काँग्रेसमा यसरी धेरै नेताका छोराछोरी राजनीतिमा होमिएका छन् । जसरी बाबुबाजेले राजनीतिमा संघर्ष गरे, जेलनेल र निर्वासनसमेत भोगे । त्यो तहसम्मको संघर्ष उनीहरुले गर्नु नपर्ला । तर, समय र परिस्थिति अनुसार आउने चुनौतीको सामना गर्न कतिपय नेताका छोराछोरी सक्षम देखिएका छैनन् । बाबुबाजेको विरासतमा सजिलै पाएको पदका कारण पनि उनीहरुमा त्यस्तो समस्या आउने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot