Logo

एमसीसी उपाध्यक्ष सुमार र माधव नेपालबीच डेढ घण्टा भेटवार्ता, के कुरा भयो ? (भिडिओसहित)



काठमाडौं, २४ भदौ । नेपालको चार दिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग डेढ घण्टा लामो भेटवार्ता गरेकी छिन् । उक्त भेटवार्तामा अध्यक्ष नेपालले जनतालाई कन्भिन्स गराएरमात्रै एमसीसी सम्झौता अघि बढाउनुपर्ने अवस्था रहेको धारणा राखेका थिए ।

उता, सुमारले एमसीसी कुनै सैन्य रणनीति अन्तरगतको कार्यक्रम नभएको विश्वास दिलाएकी छिन् । भेटवार्ताबारे जानकारी दिँदै नेता गंगालाल तुलाधारले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौंता अघि बढन सक्दैन भन्ने कुरामा हामी दृढ छौं । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमती बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौं । राजनीतिक दलहरु जो सरकारमा सामेल छन । ती सबै राजनीतिक दलहरुको कन्सर्नको कुरा हो । त्यसैले हामीहरु आफू पनि छलफल गरेर सहमतीमा अघि बढछौं ।’

सुमारले भोलिमात्रै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । माधव नेपाललाई भेट्नुअघि सुमारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिईन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्