Logo

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला



काठमाडौं, भदौ २५ । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।

सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाएको छ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार मन्दिर परिसरमा रहेका पिण्डेश्वर, सन्तानेश्वर, सन्तापहरेश्वर, ज्वरेश्वर, नीलकण्ठलगायत सबै देवस्थलमा भक्तजनलाई पङ्क्तिवद्व भएर रहने व्यवस्थाका लागि कर्मचारी खटिएका छन् ।

पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ । भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्