Logo

अनमोल–सुहाना अभिनित ‘ए मेरो हजुर–४’ चैत्र २५ गते रिलिज हुने



काठमाडौं, २५ भदौ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएसँगै सिनेमा हलले संचालन गर्ने अनुमति पाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल संचालन गर्न पाउने सरकारले निर्णय गरेसँगै हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले भने शत प्रतिशत अकुपेन्सीसहित देशैभरका हल खोल्न अन्मति नदिएसम्म सिनेमा हल संचालन नगर्ने बताएका छन् ।

चलचित्र संघले सरकारलाई चेतावनी दिइरहँदा निर्देशक तथा अभिनेत्री झरना थापाले भने आफ्नो फिल्मको रिलिज मिति सार्वजनिक गरेकी छिन् । उनले ‘ए मेरो हजुर ४’ प्रदर्शनको मिति आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । थापाले सार्वजनिक गरेसँगै आउँदो चैत्र २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । उनले पुर्व घोषित मिति भाद्र १८ गते रिलिज गर्न नसकेको भन्दै अब चैत्रमा फिल्म प्रदर्शन गर्नेमा आशावादी भएको समेत उल्लेख गरेकी छिन् ।

फिल्मको मुख्य भुमिकामा चर्चित अभिनेता अनमोल केसी र सुहाना थापा रहेका छन् । दर्शकहरुले सर्वाधिक रुचाएको यो जोडीले ‘ए मेरो हजुर ३’मा समेत अभिनय गरेका थिए । फिल्म सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने सञ्जय लामाको छायांकन रहेको छ ।

उनले लेखेकी छिन्, ‘बिस्वब्यापी माहामारी कोरोनाको कारणले हामीले निर्माण गरेको चलचित्र –ए मेरो हजुर –४
पूर्व घोषीत मिती भाद्र १८ मा रिलिज गर्न सकेनौ !
अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरु पनि खोलने अनुमती दिएकोले बिस्तारै चलचित्र क्षेत्र पनि चलायमान हुने कुरामा हामी पनि आशाबादी छौ !
त्यसै अनुरुप हामीले हाम्रो चलचित्र –ए मेरो हजुर –४ को प्रदर्शन आउने चैत्र महिनाको २५ गते गर्ने निर्णय गरेका छौ संसारलाइ परेको अप्ठेरो समयले हामी सबै लाई छोडेन
सम्पूर्ण चलचित्रकर्मी ,दर्शकहरुको साथ र सहयोग कोअपेक्षा राखेका छौ !’

 



प्रतिक्रिया दिनुहोस्