Logo

‘अमेरिकाले एमसीसी फिर्ता लग्यो भने हामी खुशी हुनुपर्छ’ : सीपी गजुरेल (भिडिओ सहित)



गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले एमसीसी सम्झौता नेपालको हितमा नभएको बताएका छन् । उनले एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रको हित चाहनेहरुले एमसीसीको विरोध गरेको र राष्ट्रको हित नचाहनेहरुले भने एमसीसी पारित गर्नुपर्छ भनेको पनि टिप्पणी गरे । प्रस्तुत छ नेता गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको पार्टीले किन एमसीसीको विरोध गरिरहेको छ ?

नेपालमा एमसीसी ल्याउन खोजिएको छ, त्यसको उद्देश्य चाहीँ नेपालको आर्थिक विकास भन्दापनि चीनसँग प्रतिष्पर्धा गर्नका निम्ति नेपाललाई आधार बनाएर सामरिक गतिविधिसमेत गर्नको लागि अमेरिका नेपाल पस्नको निम्ति यो परियोजना आएको हो । दोस्रो कुरा, नेपालमा जुन यूरोनियमको खानी पत्ता लागेको भनिएको हुँदा यस्ता बहुमूल्य धातुहरु, खनिजहरु र जलस्रोत कब्जा गर्नको लागि यो आएको हुँदा राष्ट्रहितमा छैन । त्यसैले यो राष्ट्रघाती परियोेजना भएको हुँदा हाम्रो पार्टीले बिरोध गरेको हो ।

तर, यो जनता र राष्ट्रको हितमा छ भनेर प्रधानमन्त्रीलगायत शीर्ष नेताहरुले भनिरहेका छन् नि, तपाईंहरुको लागि मात्रै कसरी राष्ट्रघाती भयो ?

होइन, प्रचण्डले पनि संसोधन नगरेर यो पास हुँदैन भन्नुभएको छ । उहाँहरुको पार्टीको पनि यही धारणा रहेको बुझिएको छ । तर, देउवाजीका केही साथीहरुलाई राष्ट्रियहितमा जसलाई सरोकार छैन्, विगतका उहाँहरुको रेकर्ड पनि त्यस्तै रहेको छ । त्यसकारण राष्ट्रकोहित जसलाई चाँहिदैन उहाँहरुले यो राष्ट्रको हितमा रहेको छ भन्नुहुन्छ । बढि भयो भने उहाँहरुको व्यक्तिगत र पार्टीको हित होला ।

एमसीसीको विरोध गर्दा नेपालमा विदेशीहरुले नेपाललाई अनुदान नदिन सक्छन्, नेपालमा विकास नहुन सक्छ भन्ने प्रतिक्रिया पनि आएको छ नि, अमेरिकाले प्रष्ट रुपमा कि लिनुहोस होईन भने फिर्ता गर्नुहोस भनेको छ । अब नेपालको अवस्था के हुन्छ ?

अमेरिकाले त्यसो भन्छ भने ठिकै छ । अहिलेलाई फिर्ता हुनु ठिक छ । अमेरिकाले यूएसएआईडीमार्फत अरु सहयोग दिँदै आएको छ त्यसलाई हामीले कहिले अस्विकार गरेका छौ र ? नेपाललाई अमेरिकाले सहयोग पनि गरिरहेको छ । मलेरिया उन्मुलन गरिदियो, त्यसको लागि नेपाली जनताले अमेरिकालाई सधैं धन्यवाद दिएका छन् । त्यस्ता खालका कामहरुमा हामीले विरोध त गरेका छैनौ । तर, एमसीसी देशको विरुद्ध भएको हुँदा यसको विरोध गरेका हौ । अमेरिकाले यो फिर्ता लग्यो भने हामी खुशी हुनुपर्छ ।

एमसीसीले नेपालको विकास गर्छ, सडक विस्तार हुन्छ, ट्रान्समिसन लाइनका काम अगाडि बढ्छ, नेपालले उत्पादन गरेको विद्युत भारतमा बिक्री हुन्छ भन्छन् यो नेपालको पक्षमा होइन र ?

त्यो त हामी आफ्नै विकासको ओजना अनुसार गर्न सकिहाल्छौ नी । त्यो ठुलो कुरै होइन । नेपालको विकास ५० करोड अमेरिकी डलरले हुने होइन । नेपालको स्रोत परिचालन गर्न सकियो भने, त्योभन्दा बढि नेपाल सरकारले एनसेलबाट उठाउनपर्ने कर छ । सरकारले त्यो उठायो भने भइहाल्छ नी, किन एमसीसी चाहियो ? फेरी नेपालले एमसीसी फिर्ता गर्यो भनेर सबैले नेपाललाई सहयोग गर्न बहिस्कार गर्ने ? त्यस्तो हुँदैन ।

तपाईंहरुले कि विदेशी सहयोग नै लिदैँनौ भन्नुपर्यो, होइन भने सधैं किन विरोध गर्ने ?

हामीले कहिले विरोध गर्याैं । एमसीसीबाहेक अरुमा हामीले विरोध गरेका छैनौं । हामीले विरोध गरेको भनेको महाकाली सन्धीको हो । देखिहाल्नुभयो । संकल्प प्रस्ताव पास गरेपछि केपी ओलीले भनेको होइन ?, घाम पूर्वबाट उदाउने हो, तर अब नेपालमा पश्चिमबाट उदाउने भयो भनेर । अहिले के भयो ? त्यसैले हामीहरुले नबुझेर बिरोध गर्दैनौ । सहयोग त बिनास्वार्थको हुनुपर्यो ।

तपाईंहरुले एमसीसीको विरोध गरिरहनुभएको छ, तर यतिबेला एमसीसी उपाध्यक्ष नेपालमा हुनुहुन्छ । प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर एमसीसी पास गराउनको लागि लविङ गर्नुभएको छ, डा. बाबुराम भटराई, उपेन्द्र यादव लगायतका नेताहरु पनि सकारात्मक छन् । अब तपाईहरु के गर्नुहुन्छ ?

होइन, बाबुराम र रामशरण महतहरुले भन्दैमा हुँदैन । उहाँहरुले पहिलेदेखिनै बोलिरहनुभएको छ, त्यो हामीलाई थाहा छ । एमसीसीको उपाध्यक्ष नेपालमा आएर यो पास गर्नैपर्छ भन्नु नेपालको आन्तरिक मामलामा हस्तक्षप हो । नेपालले निर्णय गर्न पाउनुपर्दैन ? यो हाम्रो पक्षमा छ की छैन् । राष्ट्रिय हितमा छ वा छैन । यसमा नेपालले गर्छ नी । त्यसैले हामीले उपाध्यक्षलाई नेपालमा नबोलाउनु होस भनेका हौ । नेपाल आएका पाहुनालाई स्वागत गर्न पाइयोस न । अहिले त कालो झण्डा देखाउन परेको छ । हिजो कालो झण्डा देखाएका हाम्रा ५० जना साथीहरुलाई गिरफ्तार गरेको छ । उनी हाम्रा पाहुना होइनन् । त्यसैले उनीहरुले के भन्छन् भन्ने कुरा मान्नुपर्दैन् ।

तपाईँकै पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्छ यो देशको हितमा छ भन्नुभयो नी ?

बाबुरामजीले भन्नुभएको कुरा नेपालमा कति कुरा लागु भएको छ ? बाबुरामजीले बिगतमा के गर्नुभयो भन्ने कुरा अहिले नभनौं । उहाँले भनेर एमसीसी पास हुने हो र ? को हो बाबुरामजी भनेको ?

रामशरण महतले पनि संसोधन नगरेरै एमसीसी पास गर्नुपर्छ भन्नुभयो नी ?

को राष्ट्रिवादी हो ? अनि को राष्टिघाती हो भन्ने कुरा एमसीसीले प्रष्ट पारिदएको छ । यो ठिकै भएको छ एक प्रकारले । जनताले बुझ्ने अवसर पाए ।



प्रतिक्रिया दिनुहोस्