Logo

प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्ष फतिमाको भेटवार्ता



काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छिन् । आज साँझ बालुवाटारमा पुगेर एमसीसी कार्यान्वयनका लागि अगाडि बढाउने विषयमा छलफल गरेकी हुन् ।

फतिमा एमसीसीका सहउपाध्यक्ष जोनाथ ब्रुक्स, अमेरिकी राजदूत रेन्डी बेरीसहित बालुवाटार पुगेकी थिइन् । भेटमा सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास वैरागी पनि सहभागी थिए ।

कार्की अर्थमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो । उनी एमसीसी सदनबाट पारित गराउन देशभित्र अन्य दलका नेताहरुसँगको छलफलमा पनि सक्रिय रहँदै आएका छन् ।

फतिमा बिहिबार नेपाल भ्रमणमा आएकी थिइन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता डा. बाबुराम भट्टराई, अर्थमन्त्री जर्नादन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरिसकेकी छिन् ।

एमसीसीबारे स्पष्ट पार्न फतिमा नेपाल आएको बुझिएको छ । उनले एमसीसी सदनबाट पारित गराउन आग्रहका लागि भ्रमण गरेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्