Logo

श्रीलंका विरुद्धको पहिलो टी–ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाको जित



काठमाडौं, २६ भदौ । श्रीलंका विरुद्धको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रीकाले जित निकालेको छ । कोलम्बोमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रीकाले घरेलु टोली श्रीलंकालाई २८ रनले हराएको हो ।
जितसँगै तीन खेलको सिरिजमा दक्षिण अफ्रीकाले १–० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । श्रीलंकाका दिनेश चण्डीमालले अविजित रहँदै सर्वाधीक ६६ रन जोडे ।
यस्तै, कप्तान डासुन शनकाले १६ रन बनाए भने चामिका करुनारत्नेले अविजित २२ रन जोड्न सफल भए ।

दक्षिण अफ्रीकाका केशव महाराज, ताब्रेज शाम्सी, एन्रिच नोर्किया, ड्वेन प्रिटोरियस र बियोन फोर्टाइनले एक एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

दक्षिण अफ्रीकाका लागि एडिन मार्कमले ४८ रन जोड्दा रिजा हेन्ड्रिक्सले ३८ रन जोडे । क्विन्टन डी कक ३६ रनमा आउट भए । डेभिड मिल्लर २६ रनमा आउट भए । श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए । साथै थिक्सना महेश, डसुन शनाका र दुश्मन्था चामिराले १÷१ विकेट लिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्