Logo

राखेपका पूर्वसदस्यसचिव राणाको निधन



काठमाडौँ, २६ भदौ: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उनको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमितरूपमा डायलायसिस गर्दै आएका थिए ।

राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।

राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा रहेका राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत रहेका थिए । राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्