Logo

आभा



विनोद दीक्षित : मसँगै काम गर्छ मार्क एथेरटन । काठमाडौँ उपत्यकामा रहेका सबै प्रकारका मूर्तिहरूको रिसर्च गरिरहेको छ । एक वर्षभन्दा बढी भयो, टाकटुक नेपाली पनि बोल्न थाल्यो । साढे दुई बजेतिर हामी लन्च लिन एक भव्य रेस्टुराँमा पस्यौँ । सुरुमा बियर खान थाल्यौँ । मगाएको खाना आइसकेको थिएन । तर दुई जनाले तीन बोतल बियर सिद्ध्याइसकेका थियौँ ।

दुई टेबुल अलि पर दाहिनेपट्टि दुई महिलासहित केटी र केटाहरूलाई देखिसकेको थिएँ । बारम्बार मेरो कर्के नजर त्यतै पर्थ्र्यो । एक पटक हेर्दा एक महिलाले हात उठाउँदै र अलि झुकेजस्तो गर्दै मलाई दर्शन गरिन् । म मुसुक्क हाँसेँ— हो, उनी आभा थिइन् । अर्की महिलालाई पनि चिनेचिनेजस्तो लाग्यो ।

म उठेँ र सुरुमा रिफ्रेस रुममा गएँ । फर्किंदा आभाहरूको टेबुलनिर पुगेँ । ‘यी दुई मेरा नाति र नातिनी, अनि यी सानी फुच्चू शान्ताकी छोरी’ भनेर आभाले चिनाइन् । शान्ताले भनिन्,— ‘हजुरलाई मैले अघि नै दर्शन गरेकी थिएँ तर देख्नुभएन ।’

आभा यस उमेरमा पनि कस्तो धपक्क बलेकी, कस्ती उज्याली, कति आकर्षक देखिएकी ! कानको कुण्डल, घाँटीमा रहेको मोतीको माला, सारी– ब्लाउज सबै कति सुहाएको !

शान्ताचाहिँ उमेरमा आभाभन्दा अलि कम भए पनि अलि छिप्पिएकी नै देखिइन् ।

३५ वर्षजति अघि न्युरोडमा पारस रेस्टुराँ थियो, जो अलि महँगै थियो र जसमा थरीथरीका विदेशीलगायतका परिकार बन्थे ।

‘ए बाबू, पाँच बजेतिर पारसमा आउनोस् न ।’ एक डाक्टरले फोन गरेर भने, ‘खाना पनि त्यहीँ खाउँला ।’

डाक्टरसाहेब अलि टाढाको मामाको ससुरालीपट्टिका नातामा पर्नुहुन्थ्यो र आक्कलझुक्कल भेट हुन्थ्यो ।

पाँच अलि नाघ्यो म पुग्दा । कुनाको भिआइपी सिटमा आफ्नी पत्नी र छोरीसित बसेर मलाई कुरिराख्नुभएको रहेछ । म पुग्नेबित्तिकै परिचयको आदान प्रदान गराउनुभयो डाक्टर साहेबले । छोरीबारे चाहिनेभन्दा बढी बोल्नुभयो । छोरीको पढाइका बारे भन्दै, ‘मोटर हाँक्न पनि सिपालु छे, घरको कामकाज सबै गर्छे, शान्त स्वभावकी छे, अनि राम्री पनि छे । यसलाई माग्न धेरै आइसके तर मैले दिइनँ । अँ साँच्ची, आभा हो यसको नाउँ’ भन्नुभयो । मलाई आभासँगै बसाइयो । म संकोच मानिरहेको थिएँ । त्यसैले एक शब्द पनि नबोलेर चुप थिएँ ।

‘बाबू, आफ्ना बारे भन्नोस् न ।’ डाक्टरसाहेबले भन्नुभयो ।

मैले भनेँ,— ‘अब एम्एको रिजल्ट भयो । जिल्ला बाट स्कुलको हेडमास्टर भइदिन अफर आएको छ, म जान्छु होला । काठमाण्डूमा जागिरको अभाव रहेछ ।’

मैले यसो भनेपछि डाक्टरसाहेबले बोल्नुभयो,— ‘त्यस्तो कहाँ हुन्छ र ! जागिरका निम्ति म पनि प्रयास गर्नेछु । आभाको जाँच सिद्धिएपछि उसले पनि एम्ए गर्छु भनेकी छ ।’

उहाँ यसो भन्नुभएपछि आपूmले शब्का अघिदेखि गरिरहेको कुराको पुष्टि भयो ।

दुई बोतल बियर र केही स्न्याक्स डाक्टरसाहेबले मगाइसक्नुभएको थियो । सुरुमा एउटा बोतल खोलेर दुईवटा बियर गिलासमा हाल्नुभयो र मसित चियर्स गर्दै भन्नुभयो,— ‘उज्ज्वल भविष्यका निम्ति ।’ यसबीच आमाछोरी कुनै घरेलु विषयमा कुराकानी गर्न थाले ।

‘हजुरहरू कुरा गर्दै गर्नोस् एकछिन, हामी केही किनमेल गरेर आउँछौँ ।’

डाक्टरसाहेबले भन्नुभयो र त्यसपछि आफ्नी पत्नीसित बाहिर निस्किनुभयो ।

उहाँहरू गइसकेपछि हामी दुवै मौन भएर बस्यौँ ।

त्यस क्षण म सपनालाई सम्झिराखेको थिएँ । कसरी म आकर्षित भएँ, अनि सुरुसुरुमा उनले मप्रति गरेको खस्रो व्यवहार सम्झँदै गर्दा केही वर्षपछि अचानक मलाई तिमी सम्बोधन गरेर, ‘म तिमीलाई सारै माया गर्छु, मैले तिमीप्रति देखाएको उपेक्षा र गरेको रूखो व्यवहार बिर्सेर मलाई माफ गरिदेऊ’ भन्ने लगायत मन्दिरमा गएर दुवै जनाले ईश्वरसित, ‘हामी दुवै एकअर्कालाई माया गर्छौं, हे भगवान्, हाम्रो मायाप्रेम यो जुनीमा नटुटाइदेऊ है’ पनि भन्ने गरेका कुरा सिनेमाको रिल जस्तै घुम्न थाल्यो ।

आज म नराम्रोसित फसेँ । म आभासित बिहे गर्न सक्तिनँ, यो मैले भन्नैपर्छ आजै । म यस्तैयस्तै कुरामा हराइरहेको थिएँ । आभाले मौन भङ्ग गरेर सोधिन्,— ‘हजुरलाई कुन कलर मन पर्छ ?’

मैले भनेँ,— ‘यही नै भन्ने छैन, कहिले कुन, कहिले कुन । जुन जति बेला आकर्षक देखिन्छ ।’

केहीबेर चुप लागेपछि फेरि उनैले भनिन्,— ‘जाँच आउन लाग्यो । मलाई हजुरले यसो गाइड गरिदिनुपर्छ ।’

मैले भनेँ,— ‘मलाई फुर्सद हुँदैन, कुनै टिचरसित ट्युसन लिनू नि ।’

सके उनले भनेकी कुरालाई मैले रूखो तवरले जबाफ दिएँ । निकै बेरसम्म हामी चुप लागेर नै बस्यौँ । किनमेल गरेर डाक्टरसाहबहरू आइपुग्नुभयो । आउनेबित्तिकै भन्नुभयो,— ‘आपसमा कुरा होस् भनेर हामीले तपाईंहरूलाई छाडिदिएका हौँ । आभाले तपाईंलाई मन पराई । जहिले पनि बिहेको कुरा चल्दा टार्थी तर यो पटक भने टारिन ।’

डाक्टरसाहेबले यसो भनेपछि उहाँकी पत्नीले पनि थप्नुभयो,— ‘हजुरको फोटो आफूसँगै राख्छे । एकदुई पटक त फोटैसित यसले कुरा गरेकोजस्तो लाग्छ ।’

केही समय अरू बस्यौँ । डाक्टरसाहेबले बाल्यकालका कलकत्तामा डाक्टरी पढ्दा अनि रोगीलाई जाँच्दाका आफ्ना रोचक घटना सुनाउनुभयो ।

डाक्टरसाहेब आफ्नो गाडीको अघिल्लो सिटमा बस्नुभयो । पछाडिको सिटमा छेवैमा उहाँकी पत्नी अनि आभा, त्यसपछि म बस्यौँ ।

ड्राइभरलाई पहिले मलाई पुर्याउन भन्नुभएपछि मैले भनेँ,— ‘उल्टो बाटो पर्छ, पहिले हजुरहरूलाई अनि मात्र मलाई ।’ यसमा पतिपत्नीले जिद्दी नै गर्नुभयो, तर मैले मानिनँ । ड्राइभरले उहाँको घरअघाडि गाडी रोक्यो । हामी सबै ओर्लियौँ ।

आभाले केही नभनी आफ्नो घरको गेट खोलेर भित्र पसिन् । डाक्टरकी पत्नी गेटमा गएर उभिनुभयो । डाक्टरसाहेबले एकान्तमा लग्दै भन्नुभयो,— ‘मंसिर आउन अरू तीन महिना बाँकी छ, म त मंसिरमै तयार छु, होइन भने माघमा त बिहे गर्नुपर्छ । मलाई मार्चमा डब्ल्युएच्ओले एक महिनाको खटनपटनमा अराएको छ, म विदेशमा हुन्छु ।’ डेढ दुई वर्ष आफू बिहे गर्ने स्थितिमा नरहेको बताउँदै मैले भनेँ,— ‘मेरा केही समस्या छन्, ती समस्या स्वयम् आफैँले हेर्नुपर्यो ।’ मैले म आभासित बिहे गर्न सक्तिनँ भन्न नसकेर बहाना बनाउँदै यसो भनेको थिएँ ।

डाक्टरसाहेबले भन्नुभयो,— ‘दुई परिवार एक भएपछि ती समस्या सामूहिक हुन पुग्छन्, समाधान मिलेर गरौँला नि ।’ त्यसो होइन भनेर भन्दै थिएँ, डाक्टरसाहेबले ‘घरसल्लाह गरे भइहाल्छ नि’ भन्दै नमस्कार गर्नुभयो, ठीक त्यही बेला गेटमा उभिनुभएकी डाक्टरसाहेबकी पत्नीले पनि नमस्कार गर्नुभयो ।

म फर्किएँ । डाक्टरसाहेबको ड्राइभरले मलाई पुर्याइदियो ।

त्यसपछि पनि डाक्टरसाहेबले मलाई बाहिर रेस्टुराँमा र घरमा अर्को तीनचार पटक बोलाउनुभयो । मैले स्पष्ट भन्न नसके तापनि अहिले बिहे गर्ने अवस्था मेरो छैन भनेर टारिरहेँ ।

टार्नेजस्तो कुरा गरे पनि स्पष्ट भन्न सकिरहेको थिइनँ र भनिसकेपछि स्पष्ट किन भन्न सकिनँ भन्ने कुराले दिमागमा स्ट्राइक गर्थ्र्यो । एक पटक डाक्टरसाहेबसँग फोनमा कुरा हुँदा मैले भनेँ,— ‘म मानसिक तवरमा आफूलाई बिहे गर्ने योग्य बनाउन सकेको छैन । दुईतीन वर्षयता म कुनै हालतमा पनि बिहे गर्दिनँ । मलाई थाहा भएन, मेरो बिहेको कुरा चलिसकेको रहेछ । मलाई थाहा भएको भए म पारस रेस्टुराँमा आउने नै थिइनँ । डाक्टरसाहेब माफ पाऊँ ।’

यति कु।रा सुनेपछि केही नबोलेर डाक्टरसाहेबले फोन राखिदिनुभयो ।

पछि उहाँको फोन आउन छाड्यो ।

झन्डै एक वर्षपछि ।

एकदिन अचानक एउटा अपरिचित व्यक्तिको अप्रत्याशित फोन आयो— ‘म मनोचिकित्सक डाक्टर पवन छत्कुल्ली बोल्दै छु, एक जनाको उपचार गर्न तपाईंको सहयोगबिना सम्भव भएन, म नै तपाईंकहाँ समय लिएर आउँथेँ, तर त्यसो गर्न मिलेन । मैले आफू बेफुर्सदी छु भनेर त्यसो भनेको नठानिदिनुहोला । यहाँ, हजुर कलंकीको मेरो क्लिनिकमा आएपछि थाहा पाउनुहुनेछ । हजुरलाई जहिले साँझपख फुर्सद हुन्छ, मलाई दुई घन्टाअगाडि फोन गरिदिनुभयो भने राम्रो हुन्थ्यो,’ उनले भने ।

मेरा लागि अचम्मलाग्दो फोन ! म ती डाक्टरलाई चिन्दिनँ, न त उनको नाउँ नै सुनेको थिएँ । यता म यसै पनि अलि व्यस्त छु, काम गर्दै गर्दा उनले भनेको ‘हजुरको मदतले कसैको उपचार हुन सक्छ’ भन्ने कुराले अलमल्याइदिन्छ । म काम गर्न सकिरहेको छैन । मैले जाने निर्णय गरेँ र क्लिनिक पुग्ने समय बताएँ ।

साढे पाँचतिर क्लिनिकमा पुग्दा गेटमा मलाई लिन डाक्टर आफैँ आए र भित्र गएपछि एउटी केटीको छेउमा बस्न इसारा गरे । केटीले उभिएर मलाई नमस्कार गरिन् । कताकता केटीको अनुहार परिचित जस्तो लाग्यो, ठम्याउन

भने सकिनँ ।

‘के नाउँ रे ! अँ आभा ! आभाबारे सबै कुरा उहाँलाई भन्नुस् ।’ भनेर डाक्टरले ती केटीलाई भने अनि तुरुन्तै मतिर फर्किएर, ‘हजुरलाई आपत्ति छ कि ?’ भनेर डाक्टरले सोधे ।

मैले ‘कुनै आपत्ति छैन’ भनेपछि ती केटीले भन्न थालिन्, ‘हजुर, म शान्ता हुँ । एक पटक नौ–दस महिनाअघि भेट भएको थियो नि हजुरसित ।’

आभामा डिप्रेसन सुरु भइसकेको थियो अनि आतिएर हजुरलाई बाटोमा देख्नेबित्तिकै— आभा त राम्री केटी हो, किन नराम्री भन्नुभयो र बिहे गर्दिनँ भन्नुभयो, भनेर सोधेकी थिएँ । अनि हजुरले कुरा त्यस्तो होइन भन्नुभएको थियो । म नाताले आभाकी बहिनी पनि हुँ र सबैभन्दा मिल्ने साथी पनि । हजुरलाई आभाले सारै मन पराएकी थिई । मलाई हजुरको फोटो देखाएर— तँ भन् न कस्तो लाग्यो तँलाई ? भनेर सोध्थी । उसलाई माग्न धेरै आएका थिए तर ऊ मानेकी थिइन र टार्नका लागि आफूलाई एम्एसम्म पढ्नु छ भन्थी । तर हजुरले उसलाई मन नपराइदिँदा उसलाई गहिरो चोट परेको छ ।

उसमा तनाव बढिरहेको छ । सके यसैलाई डिप्रेसन भन्छन् । दिनहुँ स्मार्ट भएर बस्ने केटी अचेल कपाल पनि कोर्दिन, लुगाको ख्याल पनि राख्दिन र अब त आफूलाई नराम्री भन्न थालेकी छ । बिहेको कुरा चल्दा— ‘म जस्तीनराम्रीसित कसले बिहे गर्छ ?’ आफ्नो परिवारकालाई भन्छे ।

‘ए बाबा, तिमी राम्री छ्यौ’ भनेर मैले कति पटक भनेँ । आमा, मामा, माइजू, सबैले यही कुरा भन्नुहुँदा पनि ऊ मान्दिन । उसका फोटो उसैलाई देखायौँ र तिमी कुनै पनि अप्सराभन्दा पनि राम्री छ्यौ भन्यौँ । तर यी सब कुरा भन्नु व्यर्थ जस्तो देखियो । कस्तो अचम्म एक अत्यन्त राम्री केटीले आपूmलाई नराम्री ठान्न लागी ।

‘मेरो बिहे भयो भने लोग्नेले नराम्री देखेर मलाई छोडिदिन्छ, बरु बिहे नै गर्दिनँ, यसैमा म खुसी छु’ पो भन्छे । हाम्रो केही लागेन । मनोचिकित्सक डाक्टरसाहेबले हजुरको फोन नम्बर र ठेगाना पत्ता लगाएर मलाई फोनबाटै भन्नू भनेकाले तीन दिनअघि दिएँ । आज साँझलाई बोलाउनुभयो र म आएकी हुँ ।’ मैले केही बोल्न खोजेँ तर थामिएँ र डाक्टरलाई अर्को कोठामा लगी मैले भनेँ,— ‘डाक्टरसाहेब, आभा धेरै राम्री छिन् र आकर्षक पनि । म प्रेममा नपरेको भए उनीसितै बिहे गर्थें । म अर्कैलाई प्रेम गर्छु । म जब केटाकेटी अवस्थाबाट किशोर अवस्थामा उक्लिएँ, मैले आफूलाई अर्कै प्रकारको पाउन थालेँ, न केटाकेटी न भरपर्दो तन्नेरी । कहिलेकाहीँ बच्चाको स्वभाव झल्किन्थ्यो त कहिलेकाहीँ अस्वाभाविक रूपमा तन्नेरीको । कोही पनि मलाई तन्नेरी मान्न तयार थिएनन् र बच्चाको जस्तै व्यवहार गर्ने गरे । एकाएक म आफूमा परिवर्तन भएको देख्न थालेँ । छातीमा दुई सानासाना निबुवा जस्तो राखेकी केटीले नुहाएर बार्दलीमा आफ्नो मुखदेखि छातीसम्म झारिएको कपालको पानी हटाउन भुवादारी रुमालले फट्कार्दै झारेको देख्दाको दृश्यलाई म हेरिरहूँ, हेरिरहुँ लाग्न थाल्यो । केले हो केले, मलाई आकर्षित तुल्यायो । ममा त्यसै दिनदेखि सपनाप्रति माया पलाउन थाल्यो । केही समयपश्चात् सपनाले पनि मलाई माया गर्न थाली । हामी लुकेर छिपेर मन्दिरहरूमा गई एकअर्कासित जीवनभरि नछुट्टिने बाचा गर्ने गर्यौँ । हामी एकअर्कालाई सारै माया गर्छौं । डाक्टरसाहेब, हाम्रो यो प्रेमबारे थाहा पाउने साथीहरूका नाउँ पनि भन्न सक्छु, गएर सोधे पनि हुन्छ ।’

एकाएक डाक्टरको मुहारमा प्रसन्नता छायो, बाहिर निस्कँदै शान्तालाई भने,— ‘तपाईंकी साथी आभा ठीक हुन्छिन् । उहाँले आभालाई पनि अहिले मलाई भन्नुभएको कुरा भन्नुपर्छ ।’ अनि डाक्टरले मतिर हेरेर सोधे,— ‘तपाईं तयार हुनुहुन्छ, होइन ?’

‘हुन्छ म तयार छु ।’ मैले भनेँ ।

मैले भनेका सम्पूर्ण कुरालाई मेरै अगाडि शान्तालाई डाक्टरले भने ।

शान्ता पनि प्रफुल्लित हुँदै बोलिन्, ‘हजुरले नै यी सबै कुरा आभालाई भन्नुपर्छ ।’

एक दिन शान्ताले मलाई फोन गरिन् र सोधिन्, ‘हजुरलाई कहिले फुर्सद हुन्छ, इन्दिरा रेस्टुराँमा भेटौँ न, म आभालाई लिएर आउँछु ।’ मैले भनेँ, ‘भोलि हुन्छ, जति बजे भने पनि हुन्छ, म खाली छु ।’

‘त्यसो भए चार बजे ।’ भन्दै शान्ताले अरू थपिन्,— ‘हजुरले सबै कुरा भन्नुहोला है, अनि मैले चाहिँ हजुरसित यो भेट्ने कार्यक्रम तय नगरेको र अप्रत्याशित भेट भएको भन्छु र डाक्टरलाई भेटेको कुराचाहिँ भन्दिनँ ।’

तर भोलिपल्ट बिहान शान्ताको फोन आयो र भनिन्,— ‘आजलाई मिलेन ।’

दुई दिनपछि इन्दिरा रेस्टुराँमा भेट भयो ।

‘ओहो, ब्युटीफुल गर्ल्र्स ।’ मैले यति मात्र के भनेको थिएँ, शान्ताले भनिहालिन्,— ‘हजुर एक्लै हो भने यतै बसौँ न ।’

म शान्ताको छेउमा गएर बसेँ ।

मैले मेनु पल्टाएँ, अनि ठट्यौलो पारामा आभातिर हेरेर सोधेँ,— ‘के खाने परीज्यू ?’

‘शूर्पणखालाई के परी ?’ भनेर आभाले वाण छेडिन् ।

‘लौ, कि उसो भए मलाई पागल भन्नु पर्यो, होइन भने सही कुरा सुन्नुपर्यो ।’

‘तपाईं परीभन्दा कम हुनुहुन्न । मानिस त के भगवान् पनि लोभिन्छन् तपाईंलाई देखेर ।’ मैले भनेँ ।

शान्ताले भनिन्,— ‘होइन, हजुर त यसलाई नराम्री ठान्नुहुन्छ रे, यसै पो भन्छे यो ।’

मैले भनेँ,— ‘त्यसो होइन, आभा अत्यन्त सुन्दर, आकर्षक र शालीन छिन् । मेरो दसौँ वर्षअघिदेखि सपनासित प्रेम भएकाले उसलाई धोका दिनुहुन्न भनेर मैले आभासित बिहे गर्न नमानेको । मैले नारीको इज्जत गर्न सिकेको छु । मैले बिहे आभासित गरेको भए आभा पनि र सपना पनि जिन्दगीभरि दुंख पाइरहन्थे ।’ मैले भएभरको आफ्ना सारा कुरा भनेँ, यद्यपि बीचबीचमा शान्ता प्रश्न गर्ने गर्थिन् । मेरा कुराबाट आभामा प्रसन्नता देखिन थालेको भान भयो र मेरा एकदुई कुरामा समर्थन गरेकी पनि देखेँ ।

डेढ-दुई घन्टाको बसाइमा मैले सबै कुरा स्पष्ट पारेँ । ती दुवैका प्रश्नका उत्तर दिएँ, उनीहरू सन्तुष्ट नै देखिए । निस्कने बेलामा बिलको पैसा मैले तिर्न लाग्दा आभा र शान्ताले मानेनन् । आभाले तिरिन् । ‘छुट्टिनुभन्दा अघि एक पटक अंकमाल गरौँ,’ शान्ताले भनिन् । उनको मनसाय मैले आभालाई अंकमाल गर्नु भन्ने थियो । मैले आभालाई अंकमाल गर्दा सुरुमा मेरा ओठतिर आफ्नो ओठ लग्दै गालामा चुम्बन गर्दै कानको लतकोमा टोकिन् । ‘शान्ता ल आऊ, म तिमीलाई पनि अंकमाल गर्छु ।’ मैले यसो भन्दा शान्ता उठिन् र बिस्तारै मेरो कानमा भनिन्, ‘म आभाले गरेको जस्तो गर्दिनँ ।’

साँच्चै आभाले किन त्यसो गरिन्, सम्झँदा अचम्मै लाग्छ ।

छोरो पल्लव गाडीको साँचो माग्न आयो, त्यही बेला मेरी श्रीमती कमलाले, ‘एथेरटनको फोन छ’ भनेर मोबाइल मलाई दिइन् ।

शान्तासित बेलाबखत फोनमा कुरा हुन्छ । बिचरी एक्ली नै छन् । कपालमा डाई गर्ने गरेकाले अझै पनि आकर्षक नै देखिन्छिन् ।



प्रतिक्रिया दिनुहोस्