Logo

उपेन्द्र यादव र बाबुरामबीच मनमुटाब



काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलिभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो ।

स्रोतकाअनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् । तर, यादव भने आँफै उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छन् । यसबारेमा उनले प्रधानमन्त्री देउवालाई पनि जानकारी गराईसकेका छन् । तर, भट्टराई भने यादवलाई सरकारमा नजानको लागि आग्रह गरिरहेका छन् ।

बरु, उनले राजेन्द्र श्रेष्ठ वा महेन्द्र राय यादवमध्ये एक जनालाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउनुपर्ने सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी) र जसपाको कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको छ । प्रधानमन्त्री देउवाले भने कुनैपनि हालतमा अब ढिलाई नगर्ने भन्दै मन्त्रिपरिषद विस्तारको लागि तत्काल नाम दिन सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भनेका छन् ।

तर, नेकपा (एमाले) ले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए । यो मुद्दाको फैसला नआएसम्म मन्त्रिपरिषद् विस्तार पनि नहुने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्