Logo

एमसीसीको तरंगः सत्ता गठबन्धन टुट्दै, नयाँ बन्दै



काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धन टुट्ने अवस्था विकास हुँदै गएको छ । गठबन्धनभित्र एमसीसीका कारण फाटो बढ्दै गएको छ । यसले कुनैपनि बेला गठबन्धन दुर्घटनातर्फ बढेको छ ।

एमसीसी पारित गर्ने पक्षमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा देखिएका छन् । उनले एमसीसी उपाध्यक्ष फतिमा सुमारसँगको भेटमा पनि पारित गर्ने वचन दिएका छन् । यसका लागि राष्ट्रिय सहमतिको प्रयास गरिरहेको प्रष्ट पारेको बुझिएको छ ।

देउवाका लागि एमसीसी प्रतिष्ठाको विषय बनेको छ । उनी यसअघि प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता भएको थियो । सम्झौताका बखत अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई देउवाले हिजो फतिमासँगको बालुवाटार बैठकमा सँगै राखेका थिए ।

एमसीसीको विपक्षमा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चा नेपाल उभिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मौनप्रायः छन् । बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी यथावस्थामा कुनै हालतमा पारित नहुने बताइसकेका छन् । उनले एमसीसी संशोधनको विषय उठाएका छन् । एमसीसीबारे गठबन्धनभित्र विवाद बढ्न थालेपछि बुधबार बोल्दै सत्ता गठबन्धन तोड्ने खेल भएको विषय उठाएका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संशोधनसहित पारित हुने पक्षमा रहेको बताइसकेका छन् । नेककपा एसभित्र पनि एमसीसीको विरोधी बढी देखिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल यथास्थितिमा एमसीसी पारित गर्न नहुने पक्षमा उभिएका छन् ।

जनमोर्चा नेपालले एमसीसी अगाडि बढाए गठबन्धन छाड्ने चेतावनी दिइसकेका छन् । जनमोर्चा एमसीसी विरोधी गतिविधिमा सक्रिय भइसकेको छ ।

नेकपा एमाले भने एमसीसीलाई पर्ख र हेरको रणनीतिमा देखिएको छ । सत्ता गठबन्धनलाई एमसीसी प्रतितिनिधि सभामा टेबुल गरेर देखाउन चुनौती दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे गठबन्धनको कदमलाई हेरेर उचित समयमा निर्णय लिने बताइसकेका छन् । उनले एमसीसीकै मुद्दाले गठबन्धन टुट्ने सम्भावना पनि देखेको बुझिएको छ । त्यसैले एमाले पर्ख र हेरको रणनीतिमा देखिदैछ ।

एमसीसीका कारण गठबन्धन टुट्न सक्ने सम्भावना विकास भइरहेको छ । यसै पनि मन्त्रिपरिषद विस्तारमा ढिलाई भइरहेको छ । एमसीसी अगाडि बढाउने प्रधानमन्त्री देउवाको चाहना देखिएको छ । त्यतिबेला उनलाई प्रचण्ड र माधव नेपालले साथ दिने सम्भावना न्यून देखिएको छ ।

देउवाले कि राजीनामा दिनुपर्ने कि नयाँ चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ । त्यतिबेला उनले एमाले अध्यक्ष ओलीसँग सहमति गर्ने विकल्प तयार गरेको बुझिएको छ । ओलीसँग भेट्न विश्वासपात्रहरु देउवाले पठाइसकेका छन् ।

एमसीसी पारित गर्ने पक्षमा विगतमा ओली पनि देखिएको र सभामुख अग्निप्रसाद सापकोटाले सदनमा अगाडि बढाउन आनाकानी गरेको विषय चर्चामा थियो । अब कठोर कदम चालेर भएनि देउवा एमसीसी अगाडि बढाउन जुटेका छन् । त्यतिबेला देउवा र ओलीबीच नयाँ गठबन्धन विकास हुने सम्भावना देखिएको छ । परिस्थिति त्यसै दिशातर्फ बढेको छ । काँग्रेस, एमाले र लोसपाको नयाँ गठबन्धन विकास भई एमसीसी पारित गराउनका लागि कदमहरु चालिनसक्ने वातावरण विकास भइरहेको छ ।

त्यसैले ओलीले सत्ता गठबन्धनको कदमलाई हेरेर एमसीसीबारे उपयुक्त समयमा निर्णय लिने बताइसकेका छन् । आज एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पनि एमाले एमसीसी विरोधी नभएको प्रष्ट पार्दै उपयुक्त समयमा निर्णय लिने बताएका छन् । उनले सत्तागठबन्धनको साझा धारणा र एमसीसी सदनबाट टेबुलमा ल्याउन समेत चुनौती दिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्