Logo

एनआरएनए महासचिवमा टिम कुलबाट डा केशव पौडेलको उम्मेदवारी



काठमाडौं, भदौ २७ । एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

एनआरएनएको महासचिव महत्वपूर्ण जिम्मेवारीको पद हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा पौडेल संस्थागत विकासका लागि यस पटक आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए ।

उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिएको बताए । तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भएका समाजसेवी र एनआरएनए अभियन्ता हुन् ।

एनआरएनए अभियानमा शुरुदेखि संलग्न पौडेल सन २०१३–२०१५ मा एनआरएनए अमेरिकाको सल्लाहकार, २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको सफल अध्यक्ष र सन २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरेका अभियन्ता हुन । डा पौडेलले यस पटक एनआरएनएमा संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन ।

अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा पौडेलको नेपालमा ग्रिनसिटी अस्पताल लगाएत विविध क्षेत्रमा लगानी गरेका सफल ब्यावसायी पनि हुन । डा पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा विश्वमा परिचित छन । डा पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौ मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । डा पौडेलको अमेरिकामा चिकित्सा क्षेत्रसँगै होटल व्यवसायमा समेत लगानी गरेका छन ।

एनआरएनएको अभियानमा २०१५ पछि संघबाट धेरै काम गर्न सकिन्थ्यो तर, खासै रुपमा उपलब्धिका काम गर्न नसकेको डा पौडेलले आरोप लगाएका छन । ‘हाल सँस्थामा केहि भएका काम नियमित भनौं या दैनिक रुपमा गर्ने काम मात्र भएका छन । केहि पुराना कुरा निरन्तर दिने र केहि प्रोजेक्ट सम्पन्न गर्ने काम भएको छ । त्यो पाटो राम्रो हो तर गर्नुपर्ने धेरै काम बाँकी छन । हाल एनआरएनहरुको मुख्य एजेण्डाहरु नै छायाँमा परेका छन । कतिपय त बिषयको उठान नै नभएको अवस्था छ’, उनले बताए ।

गैरआवासीय नेपाली संघमा रुपान्तरण आवश्यक मात्र होइन अति नै आवश्यक भएको डा।पौडेलको भनाई रहेको छ । डा पौडेलको योजनामा संघको संरचना परिबर्तन , नेपाल सरकारले भनेको जस्तो विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी नेपालीको प्रष्ट कुरा , हरेक क्षेत्रका प्रमुख मुद्धाहरुलाई उठाउने मात्र होइन टुंगो नै लगाउने,विश्व भरिका एनसीसीहरुको लागि स्वायत्त तर सँगै हिड्ने संरचना बनाउने, वर्तमान र विगतका नेतृत्वले गरेका, गर्न

बाँकी रहेका राम्रा काम र संघको भन्दा व्यक्तिका हितका लागि दर्ज गरेका केहि अबैधानिक, बिधान मिचेका र अन्य सबै कुरा पुनर्विचार र पुनःब्यबस्था गर्ने रहेको छ ।‘गैरआवासीय नेपाली नागरिकताको बिषय नेपालको संबिधान प्रदत्त अधिकार भैसक्यो ।

केवल नागरिकता दिने बिधि, अधिकार के कति, कसरी भन्ने ऐन बन्न बाँकी रहेको हो । त्यससंबन्धि संबन्धित देशका एनसीसीहरु र हामीले जितेमा आइसीसी नेतृत्व सबैले एकैसाथमा गएर, नेपाल सरकारका सम्बद्ध निकाय र संसद सबैमा पुगेर टुंगो लगाउनुपर्छ’, डा पौडेलको भनाई रहेको छ । मध्यपूर्व, मलेसिया, कोरियालगायत देशको श्रम मात्र होइन हरेक क्षेत्रको सबै मुद्धा उठाउने यथोचित रुपमा टुंगोमा पुर्याउनुपन, धेरै समय मध्यपुर्व र मलेसियाका श्रमिकको कुरा धेरै उठाइएको तर समाधानतर्फ अगाडि बढन नसकेको अबस्थामा आफुले योजना नै बनाएर अगाडि बढेको डा पौडेलको भनाई छ ।

पौडेलका अनुसार परिस्थतिका आधारमा विश्वका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई फरक–फरक खण्डमा राखेर त्यसैका आधारमा संघका सदस्यहरुको सुविधाको ब्यबस्था गर्नुपर्छ । अमेरिका, क्यानाडा, बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलिया जस्ता एउटै खाले प्रकृति भएका देश र केहि ठुला सदस्य संख्या भएका देशहरुमा फरक रुपमा नीति तय गरिनुपर्छ ।

नेपालमा गैरआवासीय नेपाली संघको अधिवेशन गर्दा केहि हजार छनोट गरिएका प्रतिनिधिहरु लगेर होइन ५० औं हजार नेपाली लगेर भब्य कार्यक्रम गर्दा नेपालको शान र आर्थिक पाटोमा नै फरक रुपले योगदान दिन सकिने डा पौडेललले बताए ।



प्रतिक्रिया दिनुहोस्