Logo

क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प



काठमाडौं, भदौ २७ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौंको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ ।

हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम अगाडि बढ्न नसकेको बताए । पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ले पाएको छ । उनले भने, ‘‘२०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक टोली स्वदेश फर्केका हुन् । त्यसपछि उनीहरू नेपाल आएका छैनन्।’’ सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

खनालले भने, ‘‘निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीसँग हामी नियमित सम्पर्कमा छौँ । नेपालमा कोभिडको महामारी सामान्य भएपछि नेपाल आएर बाँकी काम पूरा गर्ने चिनियाँ पक्षले बारम्बार प्रतिबद्धता गरिरहेको छ ।’’ चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको समयावधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ ।

‘‘पुनर्निर्माण गर्नुपर्ने भवनहरूको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको फिनिसिङको काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन,’’ उनले भने ।
उनका अनुसार, चिनियाँ प्राविधिक टोली र कामदार आएर काम सुरु गरेपछि बढीमा छ महिनाभित्र सम्पूर्ण काम सकिन्छ । गत आर्थिक वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडको महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य हासिल हुन नसकेको उनले बताए।

वसन्तपुरको नौतले दरबारमा फलामे डन्डीको खट बाँधी चर्किएको गारोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदै छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउने र भत्किएको भाग पुरानै शैलीमा निर्माण गरिएको छ ।

काठमाडौं उपत्यकामाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले उपत्यकाका तीनैवटा सहर देखिनेगरी सामरिक महìवका आधारमा निर्माण गरेको यो दरबारको पाँचौँ तलामाथिको सम्पूर्ण भाग भूकम्पमा भत्किएको थियो । त्यसबेला माटोको जोडाइमा बनाइएको भए पनि हाल चुना सुर्कीबाट निर्मित वज्रको जोडाइमा पुनर्निर्माण गरिँदै छ ।

निर्माणसामग्री लैजाने र भत्काइएका सामान ओराल्नका लागि समेत परम्परागत सामग्री प्रयोग गरिएको छ । नौतले दरबारपरिसरमै रहेका ललितपुर, भक्तपुर र कीर्तिपुर नामका तीनवटा टावरमध्ये क्षति भएको भक्तपुर र ललितपुर टावरको पुनर्निर्माण भइरहेको छ ।

विक्रम संवत् १८२६ देखि १८३० सम्म पृथ्वीनारायण शाह र उनका छोरा प्रतापसिंह शाहले नौतले दरबारको निर्माण गर्न लगाउनुभएको थियो । वसन्तपुरको सो ठाउँमा मल्लकालदेखि नै दरबार रहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्