Logo

बदलाको भावनाले कार्की परिवारका ६ जनाको हत्या



काठमाडौं, भदौ २७ । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले पुरानो रिसइबी र कुण्टाका कारण संखुवासभाको मादी नगरपालिका-१ मा कार्की परिवारका ६ जनाको हत्या भएको बताएका छन् । नातामा भतिजा नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले सामूहिक हत्या गरेको स्वीकार गरिसकेको र आज सदरमुकाममा सार्वजनिक गरिने डीएसपी सुवेदीले बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डीएसपी सुवेदीले भने, “हामी ५, ६ दिनको अथक प्रयासपछि हत्यारा पत्ता लगाउन सफल भएका छौं । हामीले परिवारिक अन्तर्कलह, आर्थिक पक्ष या अवैध सम्बन्ध आदि विभिन्न पक्षबाट सूक्ष्म ढंगले अनुसन्धान गरेका थियौं । घटनास्थलको जाँचका क्रममा लेनदेन नभएको, लुटपाट नभएको, सुनचाँदी, गरगहना, नगद यथावत् देखियो ।
पारिवारिक अन्तरद्वन्द्न नभएको, छरछिमेकसँग पनि सामान्य सम्बन्ध रहेको पायौं । अवैध सम्बन्ध पनि देखिएन । घटनास्थलभन्दा २ सय मिटर नजिक घर भएका लोकबहादुरले बदलाको भावना र व्यक्तिगत कुण्ठाका कारण हत्या गरेको देखियो । बयानमा उनले बडा बाको हेपाहा प्रवृत्ति, गालीगलौज गरी पीडा दिएका कारण हत्या गरेको स्वीकार गरेका छन् ।”

डीएसपी सुवेदीका अनुसार लोकबहादुर घटनाको बिहान बडा बा कार्कीको घरमा गएका थिए । त्यस क्रममा सामान्य विवाद भएको थियो । उनले पहिले बडाबालाई धारिलो दाउराले हानेर हत्या गरे । त्यसपछि उनको चिच्याहट सुनेर गएका श्रीमती र बुहारीको हत्या हत्या गरे । उनले प्रमाण लुकाउन एकपछि अर्को गरी ६ जनाको हत्या गरे । सबै मृतकको टाउकोमा चोटपटकको अवस्था हेर्दा चिर्पटले नै हानेको देखिएको छ । हत्यारा पक्राउ परेपछि त्रास सिर्जना घटेर गएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्