Logo

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक



काठमाडौं, भदौ २७ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय कार्कीलाई सार्वजनिक गरेको हो। लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् ।

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीको बयानमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्