Logo

एमसीसी जस्ताको त्यस्तै पास हुनुहँदैन : डा. आचार्य



काठमाडौं, २७ भदौ । पूर्वाधार विकास विज्ञ तथा अध्येता डा. सुर्यराज आचार्यले एमसीसीमा भएका गलत प्रावधानहरु सच्याउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसी जस्ताको त्यस्तै पास गर्न नहुने धारणा राखे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसी पास गर्ने वा के गर्ने भन्नेबारे अहिलेसम्म धारणा बनाएको छैन भनेर भन्नु गलत भएको पनि टिप्पणी गरे ।

उनले भने,‘म एमालेका साथीहरुलाई भन्न चाहन्छु, तपाईँरुले शेरबहादुरलाई होईन, जनतालाई जवाफ दिनुपर्छ । केपी ओली बहुत वाचाल हुनुहुन्छ । मलाई त सिंहदरबारमा बस्ने नेताहरुको व्यवहारसँग डर छ । हाम्रो नेताहरुमा सार्वभौमसत्तासम्पन्न देशलाई व्यवस्थापन गर्ने क्षमता छ र ? अमेरिका सुपरपावर देश हो, यत्रो रकम दिँदा उसको स्वार्थ छ । एमसीसीको उपाध्यक्ष भनेको एउटा कर्मचारी हो, उहाँहरु आउँदा देश नै एमसीसीमय भयो । हाम्रा नेताहरु आन्तरिक राजनीतिको पोको फुकाउनुहुन्छ । यस्तो विषयमा त सबै दलहरु एक कठ्ठा हुनुपर्छ । म एमसीसी जस्ताको त्यस्तै पास हुनुहँदैन भन्ने व्यक्ति हुँ ।’

राजनीतिक दलहरु, यसका नेताहरु र राज्य संयन्त्रमा भएका व्यक्तिहरु र बौद्धिकहरुले राष्ट्रप्रति ठूलो अन्याय भएको पनि उनको भनाई छ । उनले एमसीसी सम्झौता गर्दासम्म नेपालको तर्फबाट पर्याप्त लापरवाही रहेको सुनाए । उनले भने,‘राष्ट्रिय हित के–के हुन ? भन्ने विषयमा लापरवाही भयो । अमेरिका नेपालमा ४०–५० वर्षदेखि विकासको सहयोगी हो । सम्झौतामा राजनीतिक र रणनीतिक प्रकृतिका शर्त छन् ।’

उनले अहिलेसम्म ४६ देशमा एमसीसी सम्झौता भएको र तीमध्ये तीन÷चार वटा देशमा सम्झौता खारेज भएको पनि स्मरण गराए । उनले भने,‘सम्झौतामा अमेरिकी कानून लागु हुने कुरा लेखिएको छ । कम्प्याक्टको दफा ३.३ मा यो कुरा लेखिएको छ । वैदेशिक अनुदान कहिल्यैपनि फ्रि हुँदैन । चीनले पोखरा विमानस्थल बनायो, त्यहाँ उसले आफ्नै ठेकेदार राखेको छ । भारतले हुलाकी राजमार्ग बनाउँदापनि त्यस्तै गरेको छ । यो सम्झौतामा अमेरिकी स्वार्थलाई बढावा दिने कुरा लेखिएको छ ।’

उनले एमसीसी आईपिएसको अंग हो कि होईन भन्ने प्रश्न नै गलत रहेको पनि सुनाए । उनले भने,‘कुटनीतिमा देखिने र नदेखिने पाटा हुन्छन् । यो एमसीसीमा ९ वटा शर्तहरु अनन्तकालसम्म रहने कुरा लेखिएको छ । ५.५ मा हेर्दा अमेरिकी हितभन्दा बाहिर हुनुहुँदैन भनिएको छ ।’

संरचना बनिसकेपछि संरचनाको उपयोगबारे पनि अमेरिकीको चासो हुन्छ भनेर लेखिएको पनि उनले सुनाए । उनले भने,‘विकासको आयोजनाको लागि संसद्मा गएर सन्धी ऐन बनाउने हो ? भोलि अन्य देशले पनि ल्याए भने हामी कहाँ पुग्छौं । भोलि हामी गलपासोमा पर्नसक्छौं । अमेरिकी सिनेटमा छलफल हुँदा अमेरिकी रणनीतिक स्वार्थबारे पनि स्पष्ट रुपमा राखिएको छ । देशको हितमा हुँदा पास गर्दा हुन्छ । तर, यो त छलफल गर्नुपर्छ । हामीले उठाएका प्रश्न अनावश्यक होईन तर अप्ठ्यारा लाग्ने हो । कांग्रेस र एमालेका नेताहरुको व्यवहार जनसंगती छैनन् ।’



प्रतिक्रिया दिनुहोस्