Logo

चीनसँगको सीमा समस्याबारे अध्ययन टोली नाम्खातिर, गाउँपालिका अध्यक्ष लामा काठमाडौंतिर



काठमाडौं, २७ भाद्र । यतिबेला चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न गठित सरकारी टोली हुम्ला खटिएको छ । टोलीले नाम्खा गाउँपालिकास्थित सीमा मिचिएको भनिएको क्षेत्रको अवलोकन र अध्ययनका लागि सिमिकोटबाट हिंडेको छ । विहानै सिमिकोटबाट हिंडेको टोली भोलि सीमा मिचिएको भनिएको क्षेत्रमा पुग्ने बुझिएको छ ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वको टोली नापी विभागका उपसचिव, विज्ञ र सुरक्षाकर्मीसहित खटिएको छ । उनीहरुले यथार्थ विवरण संकलन गरी सरकारलाई प्रतिवेदन बुझाउने भएका छन् ।

नाम्खातिर सरकारी अध्ययन टोली पुग्दा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौं आइपुगेका छन् । उनले शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको विश्वस्त स्रोतले बताएको छ ।

लामाले केही गोप्य भेटहरु समेत गरेको बुझिएको छ । उनको पछिल्लो काठमाडौं आगमनले सीमा अध्ययन प्रभावित हुनसक्ने आशंका गरिएको छ । यसबारे उनीसँग सोध्दा एक हप्ता देखि काठमाडौंमा रहेको बताएका छन् । उनले भने, म भोलि नै हुम्ला फर्कदैछु ।

सरकारले चीनसँग ४ जिल्लाका ११ स्थानमा सीमा मिचिएको विवरणका आधारमा सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन गरेको हो । यसबारे देशभित्र र बाहिरबाट क्रिया प्रतिक्रिया आइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्