Logo

संवादमार्फत समाधान खोज्दै सभामुख



काठमाडौं, भदौ २८। प्रमुख प्रतिक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरे । तर, पछिल्ला केही दिनको तुलनामा प्रतिनिधिसभाको आइतबारको बैठकको दृश्यमा केही फरक देखियो । यसले संवादको वातावरण बन्दै गएको संकेत मिलेको छ ।

अघिल्ला दिनमा मर्यादापालक र सांसदहरूबीच घम्साघम्सी देखिएको थियो । प्रतिस्थापन बजेट पेस गर्ने क्रममा एमाले सांसदहरूले काँधमा चढेर रोस्टम पुग्ने प्रयास गरेका थिए । मर्यादापालकहरूले पनि एमाले सांसदहरूलाई वेलको आधा भागमा रोकेका थिए । तर, आइतबारको बैठकमा एमाले सांसदहरूले वेल घेराउ गर्दै नारा लगाए पनि कुनै घम्साघम्सी भएन । प्रतिनिधि सभाको बैठक अघि एमाले दलका नेता केपी शर्मा ओलीले मर्यादित भएर प्रस्तुत हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए ।

अघिल्लो बैठकमा मर्यादापालकहरूले सभामुख बस्ने स्थानअघिको खाली ठाउँको आधा भागमा मात्र प्रतिपक्षीलाई रोकेका थिए । तर, आइतबार उनीहरूले पुरै वेल खुला छाडेका थिए । बैठकमा सभामुख अग्नि सापकोटाले संवादतर्फ अग्रसर हुन सांसदहरूलाई आग्रह गरिरहे । ‘आखिरमा हामीले सहकार्य र समन्वयमा जानैपर्छ । संवादतिर जान सत्तापक्ष र प्रतिपक्षले पहल गर्नुपर्छ । म विनम्रतापूर्वक आग्रह गर्दछु । वातावरण सहज बनाउने भूमिका खेलौं,’ सापकोटाले भने, ‘बैठक सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाउन विपक्षी दलका सांसदहरूलाई अनुरोध गर्छु । सत्तापक्ष, विपक्ष र संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरू जनताको सर्वोच्च प्रतिनिधि संस्थालाई मर्यादित बनाउन संवादतिर अग्रसर होऔं ।’

आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदहरूले नाराबाजी जारी राखेका थिए । उनीहरूले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावादजस्ता नारा लगाएका थिए । सभामुख अग्नि सापकोटाले नियमित अवरोधले अन्य सांसदहरूले आफ्नो कुरा राख्न नपाएको उल्लेख गरे । उनले अदालतमा विचाराधीन विषयमा छलफल संविधानमा निषेध गरेको सम्झाए । तर, एमाले सांसदहरूले नाराबाजी कायम राखे । एमाले सांसदहरूले माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना सभामखुले प्रकाशित नगरेकोमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले गैरसांसदलाई प्रवेश निषेध गर भन्दै नारा लगाएका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्