Logo

बन्चरेडाँडामा दिगो समाधानबिना फोहोर फ्याँक्न नदिने



काठमाडौं, भदौ २८। काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने तयारी गरिरहेका बेला स्थानीयले समस्याको दिगो समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने भएका छन् । बन्चरेडाँडा–सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले असोज २ गते बन्चरे ल्यान्डफिल क्षेत्र परिसरमा दबाबमूलक कार्यक्रम आयोजना गरी संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।

समितिका संयोजक श्रीराम ढुंगानाले समस्याको दिगो समाधान नहुँदासम्म बन्चरेमा फोहोर फ्याक्न नदिने बताए । उनले पटक–पटक चेतावनी दिँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको बताए । सरकारको आश्वासनले समस्या समाधान हुन नसक्ने भएकाले अब दबाबको विकल्प नरहेको टिप्पणी गर्दै उनले भने– ‘अबको दबाव निर्णायक हुनेछ, सरकारले दीर्घकालीनरूपमा माग सम्बोधन नगरेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न दिँदैनौं । समस्या समाधान नगरी बन्चरेमा फोहोर विसर्जन गर्न खोजे कडा प्रतिकार गर्नेछौं ।’

व्यवस्थापन समितिले अबको लडाइँ माग पूरा नभएसम्मका लागि निरन्तर जारी रहने चेतावनी दिँदै असोज २ गते नुवाकोट, धादिङ र काठमाडौंका सयौं स्थानीय जनताको भेला गराइने जनाएको छ ।

स्थानीयवासीले पनि हचुवाको भरमा फोहोर विसर्जन गर्न लागेको आरोप लगाउँदै समस्या समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने जनाइसकेका छन् । स्थानीयले बन्चरे ल्यान्डफिल साइटमा फोहोरबाट मल बनाउन मिल्ने उद्योग स्थापना गर्नुपर्ने, कोल्पुखोलामा लिचेड व्यवस्थापन गर्ने योजना रोक्नुपर्ने माग अघि सारेका छन् ।

सरकारले गत भदौ १५ गते सिसडोलका स्थानीयका १४ बुँदे माग सम्बोधन गरेर करिब एक महिनादेखि थुप्रिएको २० स्थानीय तहको फोहोर उठाएको थियो ।

तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा काठमाडौं महानगरपालिकाका मेयरसँग छलफल गर्नेलगायतको सहमति भएको थियो । सहमति गरेको करिब दुई साता बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्