Logo

नेकपा एस बन्न नचाहेकाहरु ओलीको पेलाईमा



काठमाडौं, २८ भाद्र । नेकपा एमाले विभाजनको विपक्षमा उभिएका भीम रावललगायतका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारोमा पारेका छन् । पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर अगाडि बढ्ने सहमति गरेका ओलीले अहिले आएर हुबहु त्यसको कार्यान्वयन नहुने स्पष्ट पारेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल ओलीको पेलाईमा परेका छन् । १० बुँदे कार्यान्वयन अनुसार एमाले उपाध्यक्षसहित सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम हुनुपर्दथ्यो । तर, उनको इञ्चार्ज खोसेर लेखराज भट्टलाई दिइएकोमा त्यसैलाई कायमै राख्ने ओलीले स्पष्ट पारे । त्यसपछि रावल ओलीसँग रुष्ट भएका छन् ।

रावल एमाले विभाजनको विपक्षमा उभिएर ओलीलाई अन्तिम समयमा साथ दिन पुगेका थिए । उनीसँगै विभाजनको विपक्षमा उभिने विगतमा माधव नेपाल पक्षधर अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्री पाए । तर, त्यो पद धरापमा छ ।

सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट जिम्मेवारविहिन जस्तै छन् । योगेश भट्टराई प्रचार विभाग प्रमुखमा यथावत् छन् । युवराज ज्ञवाली उपाध्यक्षमा कायमै छन् ।

यसरी ओलीले माधव नेपाल छाडेर आएकाहरुलाई कि त जिम्मेवारविहिन जस्तै बनाइदिएका छन् कि त धरापमा पर्ने पद दिएर राखेका छन् ।

माधव नेपालको साथ छाडेर एमालेमै रहने निर्णय गरेका नेताहरु अहिले ओलीको पेलाईमा पर्दै गएका छन् । विगतको सहमति समेत ओलीले हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारिसकेका छन् ।

एमाले हुँदा झण्डै आधा शक्ति भएको तत्कालीन माधव नेपाल पक्षधर विभाजित भइसकेको छ । माधव नेपालले नेकपा एस खोलेका छन् । उनको साथ छाड्नेहरु एमालेभित्र कमजोर सावित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्