Logo

“संसद् बाहुबली र अंकगणितका आधारमा चलाउने संस्था होइन”



काठमाडौं, भदौ २८ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बाहुबलीका आधारमा संसद्लाई नियन्त्रण गर्ने र चलाउनु दुवै प्रवृत्ति ठीक नभएको बताएका छन् । राजनीतिक दलहरुले आफ्नो अधिकार र सीमा नबुझ्दा जनताको शक्ति वास्तविक केन्द्रबाट अन्यत्र मोडिनु चिन्ताको विषय भएको उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिवक्ता भट्टराईले भने, “संसद् भनेको जनताको भावना अभिव्यक्त गर्ने र सार्वभौमसत्ता प्रयोग गर्ने ठाउँ हो, बाहुबली र अंकगणितका आधारमा चलाउने संस्था होइन ।  वेल घेराउ मान्य अभ्यास हो । तर जसरी संसद्मा हुलहुज्जत हुन थालेको छ, त्यसले लोकतन्त्रको हुर्मत लिएको छ । यसबारे सभामुख, सत्तापक्ष र प्रतिपक्षले जिम्मेवार भएर सोच्नुपर्छ ।”
संसद् नियमावलीले सभामुखको गरिमा, मर्यादा र निष्पक्षता स्पष्ट लेखेकाले त्यसको पालना हुनुपर्ने उनको मत छ । उनले थपे, “नियमावलीमा सभामुखलाई महाभियोग लगाउने व्यवस्था छैन । तर संसद्मा सभामुखविरुद्ध नाराबाजी र हुलहुज्जत गर्न पाइँदैन । सभामुख दलीय स्वार्थमा लागेर निर्देशित भए, उनको आचरण ठीक भएन, हाम्रो विश्वास छैन भनी प्रस्ताव प्रवेश गराएर छलफल पाइन्छ । यसबारे संसद्को ज्ञाता पूर्व सुवास नेम्बाङ नै हुनुहुन्छ । सभामुख अग्नि सापकोटाले उपसभामुख वा ज्येष्ठ सांसदलाई त्यो जिम्मा लगाएर यसलाई टुंगोमा लगाउन रुलिङ गर्न सक्नुहुन्छ । लोकतन्त्र भनेको विधि हो ।”
राजनीतिक दलहरुले आफ्नो अधिकार र सीमा बुझ्न नसकेको आरोप उनले लगाए । उनले भने, “पछिल्लो वर्ष एक वर्षदेखि नै सत्तापक्ष र प्रतिपक्ष सही ट्रयाकमा नगएकाले जनताको वास्तविक शक्तिको स्रोत सर्वोच्च अदालततिर मोडिएको छ । यो लोकतन्त्रका लागि शुभ संकेत होइन । यही ढंगले संसदीय व्यवस्था चल्न सक्दैन । त्यसका लागि दलहरु लोकतान्त्रिक र सुसंस्कृत हुनु अनिवार्य छ ।”
निश्चित अवस्था बाहेक अंकगणितका आधारमा संसद् चलाउनु नहुने उनले बताए । उनले भने, “संसद्मा हरेक सांसदको आवाज पनि सुनिनुपर्छ । जस्तो नेमकिपाका सांसद प्रेम सुवाल एक्लै हुनुहुन्छ । तर उहाँको आवाज पनि सुनिनुपर्छ । सत्तापक्षले बहुमतका आधारमा टाउको गनेर संसद चलाउने होइन ।”
राजनीतिक दलहरुको नेतृत्व लोकतान्त्रिक र सुसंस्कृत हुन नसके पनि राजनीतिक व्यवस्था र संविधान असफल भएको निष्कर्ष निकाल्न नसकिने पनि उनले बताए । उनले थपे, “पुरानोको बिदाइ र नयाँको स्वागत गर्ने संक्रमणमा यस्तो हुन्छ । यसलाई रुपान्तरण नगरी सुखै छैन ।”



प्रतिक्रिया दिनुहोस्