Logo

एमालेले संसद्लाई बन्धक बनाएर मण्डले पारा देखायोः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्लाई बन्धक बनाएर नेकपा एमालेले मण्डले पारा देखाएको आरोप लगाएका छन् । एमालेले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका नखेली लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको उनको धारणा छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेता खनालले भने, “सभामुखविरुद्धका एमालेका गतिविधिले मण्डले प्रवृत्तिको सम्झना गराएको छ । जिम्मेवार प्रतिपक्षका मर्यादित सांसदले त्यस्तो काम गर्न सक्दैनन् । यसले नेकपा एमालेको नेतृत्व पतित भएको देखाएको छ । यसले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाएको छ ।”
संसद्लाई बन्धक बनाएर कसैलाई बोल्नै नदिनु, संसदीय गतिविधि गर्न नदिनु चरम अराजकता भएको खनालले बताए । उनले थपे, “म व्यक्तिगत रुपमा सभामुखको भूमिकामा कमजोरी देख्दिनँ । संसद्मा अराजकता हावी भएको छ । जसरी बल प्रयोग हुन थालेको छ, त्यसले संसदीय गरिमा ध्वस्त हुन्छ । सभामुखविरुद्ध नाराबाजी गर्न पाइँदैन । अदालतमा विचाराधीन मुद्दामा संसद्मा छलफल हुँदैन । केपी ओलीले सारा मूल्य र मान्यतालाई कुल्चँदै गएका छन् । दशकौं लगाएर बनाएको सांसदहरुको छवि र व्यक्तित्व धुलोमा मिलाइदिएका छन् ।”
उनले जिम्मेवार प्रतिपक्षले रचनात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “हो, विगतमा एमालेका सांसदले माइक भाँच्ने लगायत असंसदीय गतिविधि गरेका हुन् । हामीले ती कुराबाट सिकेर आएका हौं । विगतबाट नसिक्ने हो भने हामीले देशलाई कसरी अग्रगति दिन सक्छौं ?”
ओलीको गफ र फुटानीले अब देश र दल चल्दैन’

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रिय राजनीतिमा अब नेकपा एमालेका अध्यक्ष केपी ओलीको भूमिका सकिएको टिप्पणी गरे । उनले भने, “नवौं महाधिवेशनमा पार्टी अध्यक्ष र दुई तिहाई जनमत दिएर प्रधानमन्त्री बनाएका ओलीले ४१ महिनामा दुर्गतिबाहेक के देखाए ? उनी अक्षम, असफल र विवेकहीन नेता हुन् । उनका गफ  र फुटानीले देश र दल दुवै चल्दैनन् । उनी ठग नेता हुन् । अब उनले राजीनामा दिएर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।”
ओलीमा निरंकुशता, दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, गुटवाद र अराजकतावाद हावी भएको उनले बताए । उनले थपे, “नवौं महाधिवेशनपछि ओलीले पार्टी कब्जा गरे । चरम अराजकता देखाए । उनी सरकारमा हुँदा न देश अग्रगमनमा गयो, अहिले प्रतिपक्षमा हुँदा संसद् चल्न दिएका छैनन् । संसद्ले उनको निजी हितमा काम नगरेर देशमा हितमा लाग्दा दुई पटक घाँटी निमोठे ।”

‘गठबन्धन छ, संस्कृति छैन’

वरिष्ठ राजनीतिज्ञ खनालले पाँच दलीय गठबन्धन बने पनि त्यसअनुरुप संस्कृति बन्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा समस्या देखिएको औंल्याए । उनले भने, “हुन त हामी २००७ सालदेखि नै संयुक्त रुपमा जनआन्दोलन गर्दै आएका छौं । अहिलको संविधान पनि संयुक्त रुपमा दलहरु मिलेर बनाएका हौं । अहिले गठबन्धन सरकार छ, यसमा पाँच दल छन् । हामीले सत्ता गठबन्धन त गर्यौं तर संस्कृतिचाहिँ विकसित गर्न सकेका छैनौं । त्यसैले पनि मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको छ ।” यसबारे आफूले प्रधानमन्त्रीलाई चाँडोभन्दा चाँडो गर्न विस्तार भनेको पनि उनले बताए ।
गठबन्धन सरकारमा आफ्नो दलले ६, ७ वटा मन्त्रालय पाउने टुंगो लागेको उनले बताए । उनले भने, “मन्त्री पठाउन हाम्रो पार्टीमा खासै समस्या छैन । पाँच दलबीच कति वटा मन्त्रालय पाउने भन्ने टुंगिएको छ, कुन कुन मन्त्रालय भन्ने टुंग्याउने बित्तिकै विस्तार हुन्छ । कुनै दलले नाम दिन सक्दैनन् भने जसले दिन्छन्, तिनलाई बनाए हुन्छ ।”

उनले पाँच दलीय गठबन्धन तत्काल नटुट्ने पनि दाबी गरे । उनले भने, “जुन वस्तुगत परिस्थितिमा गठबन्धन बनेको छ, त्यो टुट्ने कुनै आधार छैन । पाँच दलमा दृष्टिकोण र मुद्दामा भिन्नता जहिले पनि रहन्छन् । सबैमा समानता भए त एउटै दल बनिहाल्थ्यो  नि । कमन ग्राउन्डमा उभिएर जाँदा मात्र देश अग्रगमनमा जान्छ ।”

‘एमसीसी संशोधनबिना अनुमोदन हुन्न’

उनले अमेरिकालाई एमसीसी अनुमोदन गर्न अप्ठ्यारो भए सत्ता गठबन्धनलाई पनि अनुमोदन गर्न सम्भव नहुने बताए । उनले थपे, “एमसीसीबारे म कुनै अवसरवादी नीति लिन चाहन्नँ । हामीले एमसीसी के हो र देशको हित हुन्छ कि हुँदैन भन्ने सोचेर मात्र अघि बढ्नुपर्छ । विगतमा एमालेले बनाएको कार्यदलको नेतृत्व मैले गरेको थिएँँ । हामीले एउटा निष्कर्ष निकाल्नुपर्छ दिएको प्रतिवेदनलाई अहिलेसम्म केपी ओलीले वास्ता गरेका छैनन् । अमेरिकालाई संशोधन गर्न अप्ठ्यारो छ भने हामीलाई पनि अनुमोदन गर्न अप्ठ्यारो हुन्छ ।”
एमसीसीका केही प्रावधानमा आफ्नो असहमति भए पनि अमेरिकासँग सहयोग नै लिनुहुन्न भन्ने आफ्नो धारणा नरहेको उनले स्पष्ट पारे । उनले थपे, “एमसीसी परियोजनाका कतिपय सर्त हामीलाई मान्य हुने खालका छैनन् । हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तामा खलल पुग्ने आपत्तिजनक बुँदालाई यथावत् राखेर अनुमोदन गर्न सकिँदैन । एमसीसी एउटा परियोजना मात्र हो, हाम्रो देशका लागि पनि त्यति ठूलो कुरा पनि होइन । विचलन र भ्रष्टाचार रोक्न सक्यौं भने हामीसँग अनेकौं स्रोत छन् । सर्तबन्दीमा आधारमा सहयोग लिँदा निकै बुद्धि पुर्याउनुपर्छ । स्पष्ट र पारदर्शी ढंगले काम गर्नुपर्छ । अमेरिकाले अरु अनुदान निस्वार्थ दिन्छ भन्ने एमसीसी किन नै चाहियो ?”
एमसीसी अनुमोदन नहुँदैमा त्यसले नेपाल र अमेरिकाबीचको सम्बन्धमा दरार नआउने उनको भनाइ छ । उनले भने, “एमसीसी अनुमोदन नहुँदैमा त्यसले दुई देशको सम्बन्ध पनि बिग्रँदैन, गठबन्धनमा पनि तलमाथि हुँदैन । हामी लोकतन्त्र, संविधानको रक्षा र कूटनीतिक सन्तुलनका पक्षमा छौं । हाम्रो गठबन्धन भत्काउन कतिपय टुपी कसेर लागेका छन्, दिनरात बेचैन छन् । झिँगाको श्रापले डिँगा मर्दैन । गठबन्धन भत्कँदैन ।”

‘स्वास्थ्य राम्रो छ’
लामो समयदेखि भारतमा उपचार गरेर फर्किएका वरिष्ठ नेता खनालले मिर्गौला प्रत्यारोपणपछि आफ्नो स्वास्थ्यमा आमूल परिवर्तन आएको बताए । महिनौंपछि पहिलो पटक मिडियामा अन्तर्वार्ता दिएका नेता खनालले भने, “ऋषिजी अहिले मेरो स्वास्थ्य स्थिति राम्रो छ । म धेरै हदसम्म ठीक भइसकेको छु । औषधि खाँदै छु । चिकित्सकले दुईतीन महिना रेस्ट गर्नुपर्छ भनेका छन् । भीडभाडमा जान र ठूलठूला भेटघाट गर्न बन्देज लगाएका छन् । तर टेलिफोन, जुमबाट कुराकानी गरिरहेको छु । केही समयपछि सक्रियतासाथ पार्टी र संसद्को काममा लाग्छु ।”



प्रतिक्रिया दिनुहोस्