Logo

आईसीसी विश्वकप लिग-२: आज नेपाल र अमेरिका भिड्दै



काठमाडौं, भदौ २८ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र आयोजक ओमान सम्मीलित त्रिकोणात्मक सिरिज आजबाट शुरु हुँदैछ । आज हुने सिरिजको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे शुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण डिसहोमको एक्सन स्पोर्ट्सले गर्नेछ ।

दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । यस सिरिजको तयारीको लागि पीएनजीसँग खेलेको दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल आजको खेल जित्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल नेपाल ४ खेलबाट ४ अङ्क जोड्दै अङ्क तालिकाको छैटौं स्थानमा रहेको छ ।

यसअघि गत फेब्रुअरीमा घरेलु मैदानमा भएको दुवै खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । यता अमेरिका भने नेपालमाथि बदला लिने लक्ष्यसहित मैदान उत्रिनेछ । पछिल्लो पटक टियु क्रिकेट मैदानमा भएको खेलमा अमेरिका १२ ओभरमै ३५ रनमा समेटिएको थियो । उक्त खेलमा नेपालका स्पिनरद्वय सन्दिप लामिछानेले ६ र सुशान भारीले ४ विकेट लिएका थिए ।

अमेरिकाले यस सिरिजको तयारीको लागि पुपुवा न्युगिनीविरुद्ध भएको दुवै खेलमा जित हात पारेको थियो । हाल अमेरिका १२ खेलबाट ६ जितसहित १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ्न् । लिगमा नेपालसहित ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्युगिनी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्