Logo

भरतपुर अस्पतालमा बहिरङ्गको समय बढाइने



चितवन, २८ भदौ: चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।

यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । “अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलले जानकारी दिए । बिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब दिउँसो १२ बजेसम्म काटिने भएको छ ।

बहिरङ्ग सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताए । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले बहिरङ्ग सेवाको समय बढाइएको उनको भनाइ छ । सङ्घीय अस्पताल भरतपुरमा ६०० श्यया छन् । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि त्यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले भने, “बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौँं कुर्नुपर्ने समस्या छ ।” यसबाट कोरोना सङ्क्रमण फैलिनसक्ने जोखिम कम हुने अधिकारीले बताए । अस्पतालमा निजी सामाजिक सङ्घ संस्थाको सहयोगमा हरेक सोमबार सरसफाइ गरिँदै आएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्