Logo

सभामुख अग्नि माथि घेराबन्दी, हटाउनेसम्मको रणनीति



काठमाडौं, २८ भाद्र । रोशनी शाही प्रकरणले कृष्णबहादुर महरा सभामुखबाट राजीनामा दिन वाध्य भएपछि अग्निप्रसाद सापकोटाको भाग्योदय भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रोजाईमा परेका सापकोटालाई रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लागिरहे । सुवास नेम्वाङलाई अगाडि सारियो । तर, ओलीको पनि केही लागेन । सापकोटाले बाजी मारे ।

सापकोटाविरुद्ध माओवादी सशस्त्र द्वन्द्वका बेला मारिएका अर्जुन लामाको हत्याको अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन छ । यो उनको लागि टाउको दुखाई बनेको छ । यो मामलामा सापकोटाविरुद्ध ठूलै शक्ति लागिरहेको छ । कतिपयले यसलाई सभामुख सापकोटाको टाउकोमाथि तरबार झुण्ड्याइएको समेत भन्ने गरेका छन् ।

सभामुख सापकोटा अहिले नेकपा एमालेको तारो बनेका छन् । नेकपा विभाजन हुनुलाग्दा नेकपा एस बनाउन लागेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेर एमालेले संसद सचिवालयमा दर्ता गरेको थियो । तर, सभामुख त्यो दिनदेखि बिदामा बसे । एमाले फुटाएर नेकपा एस बनाउने निवेदन दर्ता भएपछि बल्ल उनी संसद सचिवालय पुग्न थाले । त्यसकारण एमालेले सभामुख सापकोटालाई एमाले विभाजनको मतियारको आरोप लगाएको छ । अदालतमा मुद्दा समेत दर्ता गरेको छ ।

एमालेले सदन अवरोध गर्दै आएको छ । खुलाउन सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेपनि एमाले गएन । कि १४ सांंसद पदमुक्त भएको सूचना टाँस्नु कि मार्ग प्रशस्त गर्नु भनी जवाफ पठाएको छ । अब एमालेले सभामुखको राजीनामा माग्ने सम्मको रणनीति बनाएको छ ।

आफूलाई अप्ठ्यारो पार्नेको पछि सारा शक्ति लगाएर लाग्ने स्वभाव भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको तारोमा सभामुख सापकोटा परेका छन् । यसको संकेतहरु देखिइसकेको छ । अब सभामुखबाट सापकोटालाई हटाउने सम्मको रणनीतिका साथ एमाले लागेको छ ।

यसै पनि एमसीसी सदनमा पास गर्न अगाडि बढाउने बेलामा टकराव हुनसक्ने देखिदैछ । सभामुख सापकोटाले एमसीसीलाई अगाडि बढाउन तयार होलान् या नहोलान् ? चासोको विषय बनेको छ । उनले एमसीसीमा सकेसम्म राष्ट्रिय सहमति र नभएपनि सत्ता गठबन्धनबाट सहमति गर्नुपर्ने धारणा समेत सार्वजनिक गरिसकेका छन् । विगतमा सभामुखरहेका महराले एमसीसीलाई सदनमा पास गर्नका लागि अगाडि बढाएनन् । यसप्रति तत्कालीन प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै महराको आलोचना गरेका थिए ।

एमसीसीको मुद्दामा सभामुख सापकोटाको भूमिका देखि अदालतमा विचाराधीन काभ्रेका अर्जुन लामा हत्या प्रकरण समेत टाउकोमाथिको तरबार बनेर तेर्सिन थालेको छ । यसलाई सापकोटाले कसरी पार लगाउने हुन् चासोको विषय बनेको छ । अहिले फेरि एमाले विभाजनमा उनलाई जोडेर हेर्न थालिएको छ । यसरी सभामुख सापकोटा चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई हटाउने सम्मको योजनाहरु भित्र भित्र बुन्न थालिएको छ । त्यसलाई उनले कसरी असफल बनाउने हुन् या होइनन् चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्