Logo

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने



काबुल, २८ भदौ : अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन् ।

तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिवान सरकारका उच्च अधिकारीहरुले जनाएका छन् । विश्वविद्यालयहरुमा महिलालाई पुरुषहरुभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिनुभएको छ ।

विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिवानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रुपमा लिइएको छ । अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो ।

विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागु पनि गरिने तालिबानले जनाएको छ । उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिनुभयो ।

तालिबानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ । तालिवानको अघिल्लो पटकको आफ्नै शासनकालमा भन्दा केही लचक भएपनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ ।

तालिबानले झण्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । प्रदेश राजधानीहरु कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिवानको हातमा आएको हो । उनीहरुले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरु धेरै कामहरुमा अन्यौल देखिएको छ ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्