Logo

‘केपी ओलीको भूमिका अब सिद्दियो’ : खनाल (भिडिओ सहित)



नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली राजनीतिमा अब केपी शर्मा ओलीको कुनै भूमिका नरहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीका केही प्रावधानहरु सच्याएरमात्रै यसलाई अघि बढाउन सकिने धारणा राखेका छन् । प्रस्तुत छ नेता खनालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

मेरो स्वास्थ्य अहिले निकै राम्रो भएको छ । अझै औषधी खाँदैछु । २/३ महिना रेस्टमा बस्नुपर्छ । त्यसपछि म अलि राम्रो हुन्छु । पहिलेको भन्दा निकै राम्रो भएको छु ।

तपाईंले अहिले राजनीतिक भेटवार्ता गर्न पाउनुहुन्न, देशको राजनीतिलाई कसरी हेर्नुभएको छ ?

अब म अहिले भिडभाडमा जानु हुँदैन । अहिले म जुमजस्ता माध्यमबाट अनलाइनबाट छलफल गरिरहेको छु । अनलाईन र फोनको माध्यमबाट मैले सक्रियतापूर्वक काम गरिरहेको छु ।

तपाईं भारतमा उपचार गर्न जाँदापनि त्यहाँबाट निकै चासोको रुपमा हेर्नुभयो, अहिले सत्तारुढ दल नेकपा ( एकीकृत समाजबादी) को वरिष्ठ नेता हुनुहुन्छ । शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्नुभएको छैन्, यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

पछिल्लो निर्वाचनमा नेकपाले प्राप्त गरेको दूई तिहाइको बहुमत पनि दुईवटा पार्टीले लिएको हो । त्यसैले यो गठबन्धन चाहीँ गर्ने, तर संस्कृति चाहीँ विकास नगर्ने । कुनै एउटा ब्यक्ति शक्तिमा पुग्यो भने सबै आफुले हालीमुहाली गर्ने, एक्लै मनपरीतन्त्र चलाउने यसले गर्दा समस्या देखिएको हो । अब अहिले हामीले फेरी गठबन्धन गरेका छौं, मैले प्रधानमन्त्रीलाई पनि पटक–पटक भनिरहेको छु । उहाँले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद विस्तार गर्नुपर्छ ।

मन्त्रिपरिषद् विस्तारमा अहिले हलो अड्किएको छ, भागबन्डामा कुरा मिलेको छैन, शेरबहादुर देउवाले मलाई छिटो मन्त्रीको नाम देउ भन्नुभएको छ, तर तपाईंहरुको पार्टीको विवाद यतिबेला सर्वोच्च अदालतमा भएको कारणले मन्त्रिपरिषद् विस्तार हुन सकिरहेको छैन् । यसको समाधान कति दिनभित्र होला ?

अब हाम्रो पार्टीमा खासै विवाद केही पनि भएको छैन । हामीले अब मन्त्रालय बाँडफाँड गर्न पर्याे । कति वटा मन्त्रालय भन्ने कुरा पहिले नै टुङ्गिएको छ भन्ने सुनेको छु । अब कुन मन्त्रालय भन्ने कुरा टुङ्गीयोस । त्यसपछि भइहाल्छ । यसमा ठुलो कुरा केहीपनि छैन ।

विगतमा पनि संयुक्त सरकार सफल भइरहेका छन्, तर पछिल्लो समय जुन पाँच दलीय गठबन्धन रहेको छ यसमा भागबन्डाको कुरामा खासगरी एमसीसीको विषयमा कुरा नमिल्नेलगायत धेरै समस्याहरु रहेका छन्, के यो गठबन्धन टिक्ला ?

जुन वस्तुगत परिस्थतिले यो गठबन्धनलाई जन्माएको छ । त्यो वस्तुगत परिस्थिति अहिले पनि बिद्यमान छ । त्यसैले बस्तुगत परिस्थितिमै बदलाव आयो भने गठबन्धनहरु फेरी टुट्छन्, अनि फेरी बन्छन् । तर, अहिलेको अवस्थामा त्यो गठबन्धन टुट्ने आधार छैन । अब अरु पार्टीमा आफ्ना–आफ्ना खालका सिमा र भिन्नता त जहिले पनि हुन्छन् । त्यो ठुलो कुरा होइन । त्यसलाई म्यानेज गरेर, एउटा कमन ग्राउन्डमा उभिएर अगाडी बढ्न सक्नुपर्छ त्यसलेमात्रै यो देशलाई अग्रगतितर्फ लान्छ ।

तपाईंहरुको पार्टीले कति वटा मन्त्रालय पाउने पक्का भयो ?

हामीले ६ अथवा ७ वटा मन्त्रालय पाउछौं ।

हाम्रो देशको संसद् यतिबेला कठैबरा भएको छ, संसदमा सांसदहरुका नाटकहरु देखिएको छ, माधवकुमार नेपाललगायत १४ जान सांसदलाई कारबाही नगरे संसद् चल्न नदिने एमालेले बताएको छ, अब के होला ? संसदीय व्यवस्था असफल भएको हो त ?

नेकपा (एमाले) नामको पार्टी, जो हामीले रगत÷पसिना बगाएर, त्याग र बलिदान गरेर लामो समय लगाएर बनाएको पार्टी हो । नवौं महाधिवेशनदेखि केपी शर्मा ओलीले नेतृत्व कब्जा गरेका छन् । उनको नेतृत्व निरंकुशतावादी, दक्षिणपन्थी, अवसरवादी, गुटवादी, अहंकारवादी र व्यक्तिवादी बनेको छ । सत्तामा पुगेपछि त्यो निरंकुशतावादी भयो । सत्ताबाट बारिर फ्याकियो, अहिले अराजकवादी भएको छ । त्यसले न सरकारमा हुँदाखेरी देशलाई अग्रगतितर्फ जाने काम गर्यो अहिले प्रतिपक्षमा हुँदा संसद्लाई नै चल्न नदिने काम गरेको छ । किनभने यो संसद् त उहाँले दुईपटक बिघटन गरेको संसद् हो । यो संसद्ले उहाँका निजी हितमा काम गरेन । निजी हितमा काम नगरेर देशको हितमा काम गर्दाखेरी उहाँले संसद्लाई निमोठेको हो । अब अहिले त्यसरी निमोठेको संसद् पुनःस्थापित् भएको उहाँले हेर्न सक्नुभएको छैन् । त्यसलेगर्दा संसद्मा कुनै कुराहरु अगाडि बढ्न नदिने देशलाई अराजकतातिर लाने, सभामुखविरुद्ध बिभिन्न सांसदहरुले गरेको व्यबहार मैले देखिरहेको छु । त्यसले हिजो पञ्चायतकालको मन्डलेको सम्झना गराउँछ । त्यो मण्डले प्रवृत्ति हो । एउटा मर्यादित सांसदले त्यस्तो काम गर्न सक्दैन । यस्ताखालका हर्कतहरु, जो अहिले देखापरेका छन् । त्यसले नेकपा (एमाले) को नेतृत्व बिल्कुलै अधपतित भएर लोकतान्त्रिक मूल्य र मान्यताहरु सबै गुमाउदै गएको कुरा पुष्टि गर्छ ।

सभामुखले पनि त प्रतिपक्षलाई साथमा लिएर जानुपर्छ नि होइन र ? यसमा सभामुख पनि त निश्पक्ष हुन सक्नुभएन ?

होइन, सभामुखले एउटा पार्टीको भिक्टीम भएरपनि त जान सकिँदैन नि त । सभामुखले सबै पार्टीलाई लिएर अघि बढ्नुपर्छ । तर, संसद् सञ्चालन गर्ने कुरामा सबैको न्युनतम कोअप्रेसन पनि त हुनपर्यो नी । पार्टीहरुका बीचमा भिन्नता छन् । त्यो कुरा संसदमा राख्नुपर्यो नी होइन र ? संसद्मा बहस हुनुपर्यो, अभिव्यक्तिको स्वतन्त्रता हुनपर्यो । अनि संसद्लाई बन्धक बनाएर बोल्नै नदिने, कार्यक्रमहरु अघि बढ्नै नदिने गरेपछि निरंकुशताको अर्को रुप होइन यो ? त्यसकारणले यस्ता कुरालाई कन्ट्रोल गर्न सभामुखले भूमिका खेल्नैपर्छ । अहिले सभमुखले जे भूमिका खेलिरहनुभएको छ, त्यसमा म धेरै ठुलो कम्जोरी देख्दिन् । तर त्यसमा पनि एक–आपसमा राम्रोसँग बसेर यस्तो हुनुपर्ने, यो भएन भनेर छलफल गरेर जानुपर्छ नी ।

संसदीय नियामावलीमा प्रष्ट रुपमा सभामुखको विरुद्धमा नारा लगाउन पाइँदैन भनेर लेखेको छ, तर नेकपा (एमाले)का सांसदहरुले सभामुखकै विरुद्धमा नारा लागाइरहेका छन् । केपी शर्मा आलीले प्रष्ट रुपमा भन्नभएको छ–‘माधव नेपालसहित १४ जान सांसदलाई कारबाही नगरेसम्म संसद चल्न दिदैनौं ।’ अब तपाईंहरु के गर्नुहुन्छ ?

अहिले जुनखालका मुद्दा उहाँहरुले उठाउनुभएको छ । त्यो मुद्दा अहिले अदालतमा रहेको छ । अदालतको विचाराधीन मुद्दामा विश्वका कुनैपनि संसद्मा छलफल हुँदैन । नेकपा (एमाले) जस्तो पार्टीले यी कुरा त बुझनुपर्ने हो नि त । हामी त्यो पार्टीमा हुँदा यो मर्यादालाई कहिलेपनि भुलेका थिएनौं । तर, केपी ओलीले सारा मर्यादाहरुलाई कुल्चदै जानुभएको छ । साथै, आफ्ना समर्थकहरुलाई त्यही ढंगले प्रशिक्षित गर्ने र अमर्यादित तरिकाले सांसदहरुलाई पेश गर्ने जुन प्रकारका कामहरु गरिरहनुभएको छ । यस्ता कुराले राष्ट्रलाई अग्रगतितर्फ लग्न सकिँदैन । हामीले २०४६ सालदेखि संसद्मा धेरैपटक प्रतिपक्षीको भूमिका खेल्दै आयौं । कहिलेकाहीँ हामीहरुबाट माईक भाँच्नेजस्ता कामहरु पनि भए । तर, हामीले त्यस्ता कुराहरुबाट सिकेर कसरी मर्यादित तरिकाले संसद्मा काम गर्ने भन्ने कुरा सिकेर रचनात्मक रुपमा काम गर्ने गर्दै जनतालाई आफ्ना कुराहरु सुनाउदै आयौं । त्यसकारण नेकपा (एमाले) एउटा राम्रो पार्टीको रुपमा स्थापित भएको थियो । त्यस्तो पार्टीलाई केपी ओलीले सिध्याउने काम गर्नुभएको छ ।

अहिले एमाले अध्यक्ष केपी ओलीको भूमिका नेपाली राजनीतिमा के छ ? नेकपा (एमाले) को भविष्य के होला ?

केपी ओलीको भूमिका अब सिद्दियो । दुई तिहाइको बहुमत दिएर जनताले केपी ओलीलाई जुन ढंगको अख्तियारी दिएका थिए । साथै, पार्टीले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी दिएको थियो । तर, त्यसलाई उहाँले सम्हाल्न सक्नुभएन । उहाँ एउटा असफल र विवेकहीन नेताको रुपमा आफैं आउनुभएको छ । अब उहाँले गर्ने कुनैपनि कामले यो देश अगाडि बढ्दैन । कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैन् । त्यसकारणले उहाँले कुनैपनि हालतमा पार्टी अध्यक्षबाट राजीनामा दिएर युवाहरुलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्नुबाहेक अरु कुनै विकल्प छैन् । नेपालको पूर्वाधारको विकास गर्न मैले ५०० अर्ब अमेरिकाबाट ल्याउने निर्णय गरिसकें भनेर जनतालाई ढाँट्ने ? कहाँ गयो ५०० अर्ब ? नेपाली जनताले खोज्नेछन् । त्यसैले नेपाली जनतालाई ठग्ने जुन किसिमको काम उहाँले गर्नुभएको छ, त्यस्ता झुँटा कुराले अब चल्दैन । अब एमालेभित्र बिद्रोह सुरु भएको छ । देशभरका कम्युनिष्ट युवाहरु एक भएर समाजवादको दिशामा अघि बढ्ने छन् । त्यस्तो पार्टी निर्माणको थालनी भइसकेको छ ।

एमसीसीलाई पास गर्नुपर्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले चाहना राख्नुभएको छ, तपाईंहरु त्यसलाई समर्थन गर्नुहुन्छ की विरोध ?

म अवसरवादी चाहनाले जान चाहान्नँ । कतिबेला कस्तो नीति लिंदा आफ्नो हित हुन्छ भन्नेतिर म लाग्दैन् । त्यो एमसीसी भनेको के हो यसले राष्ट्रको हित हुन्छ की हुँदैन् ? यो कुरालाई लिएर अगाडि बढ्नुपर्ने हुन्छ । नेकपा (एमाले) को कालमै एउटा कार्यदल बनाएको थियो । त्यो कार्यदलको प्रमुख म नै थिएँ । त्यो कार्यदलले जुन रिपोर्ट दियो, त्यो रिर्पोट मैले पटक–पटक पार्टीा छलफल गरौं भनें तर केपी ओलीले अहिलेसम्म त्यसलाई छलफल गर्ने काममा ध्यान दिन सक्नुभएन । त्यसैले त्यो कार्यदलले भनेको कुरा कार्यान्वयन गर्नुपर्छ । एमसीसीमा जुनखालका बुँदाहरु राखिएको छ, ती बुँदा देशको हितमा छैनन् । हाम्रो देशको राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तामा आँच पुर्याउने खालका केही शर्तहरु त्यहाँ छन् । त्यस्ता कुरालाई नसच्चाएर हामीले कसरी अगाडि बढ्न सक्छौ ? मेरो कुरा गर्नुहुन्छ भने त्यस्ता केही शर्तहरुलाई नसच्चाएर पास गर्नुहुँदैन पहिलो कुरा । अनि, दोस्रो कुरा अनुमोदन गर्नैपर्ने जुन प्रावधान राखियो यसमा पनि मेरो आपत्ति रहेको छ । यस्ता सम्झौताहरु सबैभन्दा पहिले देशको अनुकुल गर्नुपर्छ । यो एमसीसी सम्झौता गर्ने शिलशिलामा अनेक गोप्य सम्झौताहरु भएका छन्, जुन सम्झौताका सबै कपी अहिलेसम्म हाम्रो संसद्लाई थाहा छैन् । हामीहरुले समेत सबै डकुमेन्ट पाएका छैनौं । केपी ओली नेतृत्वको सरकारसँग हामीले यी डकुमेन्टहरु मागेका थियौं । तर, हामीले पाउन सकेनौं । यस्ता सबै कुरा हामीले प्राप्त नगरेर कसरी निश्कर्षमा पुग्ने ?

बाँकी भिडिओमा



प्रतिक्रिया दिनुहोस्