Logo

बागमती र प्रदेश १ मा एमाले सरकार ढाल्ने तयारी



काठमाडौं, २८ भाद्र । बागमती प्रदेश र प्रदेश नं १ मा नेकपा एमाले नेतृत्वको सरकार ढाल्ने तयारी भएको छ । एमाले फुटेपछि दुवै प्रदेशमा सरकार अल्पमतमा परिसकेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले दुवै प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छ । एमालेको संसदीय दलका पदहरुले पनि पूर्णता पाइसकेको छ । बागमतीमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई संसदीय दलको नेता चयन भइसकेका छन् ।

नेकपा एसको दुवै प्रदेशमा संसदीय दलको नेता चयन भएपछि अब सत्ता गठबन्धनबाट बाँकी दुई प्रदेशहरुमा नयाँ सरकार गठनको प्रयास चल्न थालेको छ । दुई प्रदेशमध्ये नेकपा एसले एक प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित छ । बाँकी एक प्रदेशमा पनि नेकपा एसको दाबी छ । तर, काँग्रेसले बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेको बुझिएको छ । यसमा कुरा मिल्ने वित्तिकै मन्त्रिमण्डल बाँडफाँडलगायतमा प्याकेजमा सहमति गरी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बुझिएको छ ।

बागमतीमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य छिन् । प्रदेश नं १ मा भीम आचार्य मुख्यमन्त्री छन् । तर, केन्द्रमा सत्ता गठबन्धन बनाएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी एकजुट भएमा दुवै सरकार ढल्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्