Logo

एमसीसीको विरोधमा किन उत्रिए कम्युनिस्ट पार्टीहरु



काठमाडौं, २८ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा कम्युनिस्ट पार्टीहरु देखिएका छन् । कट्टरपन्थी कम्युनिस्ट पार्टी खुलेरै एमसीसीको विरोधमा उभिएका छन् । नरमपन्थी भनिएकाहरु पनि घुमाउरो तरिकाले विरोधमै देखिन्छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको मोर्चाले आज राजधानीमा सभा आयोजना गरी एमसीसी पातिर भए आन्दोलनको आँधीबेहरीको चेतावनी दिए । मोर्चाका घटकका नेताहरुले आगो बल्ने सम्मको उग्र अभिव्यक्ति दिए ।

जनमोर्चा नेपाल एमसीसीको विरोधमा खुलेकै थियो । सत्ता गठबन्धनको बैठकमा जनमोर्चाले एमसीसी पारित गर्न खोजे अग्गिने चेतावनी दिइसकेको छ ।

नेकपा माओवादी केन्द्र पनि एमसीसीको पक्षमा देखिदैन । सिधै विरोध नगरेपनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुनेमा ढुक्क हुन भनिसकेका छन् । उनले संशोधनको शर्त राखेका छन् । जुन एमसीसीले नमान्ने स्पष्ट भइसकेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसी यथास्थितिमा पास गर्न नहुने पक्षमा छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले स्पष्ट रुपमा संशोधनको शर्त प्रस्तुत गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्ने प्रयासमा थिए । तर, उनले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रस्ताव अगाडि नबढाएको आरोप लगाएका थिए । अहिले ओली पनि एमसीसीबारे खुलेर पक्षमा देखिएका छैनन् । उनले सत्ता गठबन्धनको कदमलाई हेरेर निर्णय लिने बताइसकेका छन् । एमाले सचिव योगेश भट्टराईले एमसीसीबारे नेकपा हुँदाकै लाइन रहेको स्पष्ट पारिसकेका छन् । संशोधनपछि मात्र पारित गर्ने पक्षमा रहेको बताएका छन् ।

यसरी नेपालका ठूला देखि साना कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा छन् । केही दल संशोधनको शर्त राखिरहेका छन् ।

अमेरिकी सहयोगसम्बन्धी एमसीसीका कतिपय बुँदाबारे कम्युनिस्ट पार्टीहरुको आपत्ती छ । तर, गैरकम्युनिस्ट पार्टीहरुले यसको विरोध गरेका छैनन् । नेपाली काँग्रेस, जसपा, लोसपा सबै यसलाई पारित गर्ने पक्षमा उभिएका छन् ।

कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा उभिनुलाई उनीहरुको चीनसँगको निकटताबारे समेत विश्लेषणहरु भइरहेका छन् । एमसीसीप्रति चीनको धारणा सकारात्मक नहुनु र यसले नेपालमा अमेरिकाको प्रभाव बढ्न सक्ने विषय पनि उठिरहेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपालका कम्युनिस्ट पार्टीहरुको सोझो सम्बन्ध रहनुले पनि यसमा असर गरेको छ । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त प्रशिक्षण समेत भएको थियो । कोरोना कहरका बीच पनि कम्युनिस्ट पार्टीका नेताहरुको चिनियाँ कम्युनिस्ट नेताहरुसँग भर्चुअल बैठक चल्दै आएको छ । चीनसँगको निकट सम्बन्धका कारण पनि नेपालका कम्युनिस्ट पार्टीहरुले एमसीसीप्रति विरोधलाई गति दिएको विश्लेषणहरु भइरहेका छन् । त्यसको ठिक विपरित चीनसँगको सम्बन्धमा केही दूरी रहेका गैरकम्युनिस्ट पार्टीहरु भने एमसीसीको पक्षमा उभिएका छन् । यसले देशभित्रको राजनीतिमा नयाँ ध्रुवीकरण विकास भएको छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्