Logo

फातिमा सुमारको भ्रमण : हात्ती आयो हात्ती आयो फुस्सा !



काठमाण्डौ, भदौ २८ । निकै तामझामका साथ एमसीसीकी उपाध्यक्ष फातेमा सुमार र उनको टोलीलाई स्वागत गरेको नेपालले एमसीसी सम्झौताका बारेमा स्पष्ट अडान राख्न नसक्दा भोलिका दिनमा नेपालमा आउने विदेशी सहयोग कम हुँदै जाने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । नेपालसँग गरिएको एमसीसी सम्झौता अमेरिकी कांग्रेसले पारित गरि सकेको छ । त्यही कारण नेपाल सरकारले मागेको जवाफमा अमेरिकाले अब कुनै परिमार्जन हुन नसक्ने जवाफ समेत फार्काइ सकेको छ ।

सत्तारुढ तथा विपक्षी गठबन्धनले एमसीसी सम्झौतामा उल्लेख भएका केही बुँदा परिमार्जन गरेको खण्डमा अमेरिकी सरकारले उपलब्ध गराउने झन्डै ६० अर्ब रुपैयाँ स्विकार गर्न सकिने धारणा बनाएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा रहँदा एमसीसी सम्झौता प्रति देखाएको सकारात्मक रवैया तथा त्यही सम्झौतामा हस्ताक्षर गर्दा प्रधानमन्त्री रहेका शेरबहादुर देउवाको मन मिल्दा एमसीसी सम्झौता संसदबाट सजिलै पारित गराउन सकिने रणनीति अमेरिकाको थियो ।

अमेरिकाले यसतर्फ केही पहल पनि थालेको थियो । तर, मुलुकभर एमसीसी विरुद्ध माहौल बन्न थालेपछि एमाले अध्यक्ष के पी शर्मा ओली तथा प्रधानमन्त्री देउवा दुवै जना आफ्नो पूर्व अडानबाट पछाडि फर्किए । देउवाले ओलीको साथ पाउँदा सहजै संसदबाट एमसीसी सम्झौता पारित गराउन सक्ने अनुमान सहित सुमारको टोली नेपाल आएको थियो । तर, नेपालको चार दिने बसाइँको क्रममा उनले सोच विपरितको माहौल पाइन् । जसले गर्दा सकेसम्म छिट्टै संसदबाट पारित हुन नसके घुमाउरो पारामा एमसीसी सम्झौता फिर्ता हुन सक्ने धम्की समेत दिइन् ।

सुमारको भ्रमणपछि एमसीसीसँग अब मात्र दुई वटा विकल्प बाँकी देखिएका छन् । सुमारले नेपालबाट पाएको सन्देशपछि चार वर्षसम्म संसदबाट पारित नभएको एमसीसी सम्झौता पारित गराउन अझै केही समय कुर्ने कि नेपालसँग गरिएको सम्झौताबाटै अलग हुने भन्ने निर्णय अब अमेरिकाले नै गर्नु पर्ने भएको छ । एमसीसी फिर्ता भएको खण्डमा भविष्यमा अमेरिका लगायत अन्य सहयोगी मुलुकले नेपालमा गर्ने सहयोगका विषयमा पनि पुनर्विचार गर्ने सम्भावना देखिन्छ । यो सम्झौता अमेरिकी सैन्य रणनीतिको अंग हो तथा मुलुकको हितमा छैन भने अमेरिकाले फिर्ता लैजानु उचित हुन्छ ।

तर, त्यसबाट अमेरिका लगायत अन्य मुलुकले भविष्यमा नेपालमा गर्ने सहयोगमा बाधा नआओस् भनेर नेपालले कुटनीतिक रुपमा समस्याको हल भने खोज्नै पर्छ । साथै नेपालले कुटनीतिक चातुर्यता देखाउन सक्ने हो एमसीसी बाहेक अन्य परियोजनामार्फत समेत यस्ता सहयोग मुलुकमा ल्याउन सक्ने अवस्था छ ।

सुमार नेपालको चार दिने बसाइपछि आइतबार रित्तो हात स्वदेश फर्किएकी छन् । एमसीसी परियोजनाका विषयमा मुलुकमा राजनीतिक दलहरु विभाजित भएका बेला सुमारले नेपालको भ्रमणबाट ठूलो उपलब्धि हात पार्ने अनुमान गरेकी थिइनन् । तर, सुमारको असफल भ्रमणले नजिकको मित्र रहँदै आएका नेपाल र अमेरिका बीचको सम्बन्धमा तीक्तता आउने हो कि भन्ने चिन्ता भने बढेको छ ।

तसर्थ एमसीसी सम्झौता बारे उठेका प्रश्नले भविष्यमा आउने अन्य सहयोगमा समेत त्यस्तै प्रश्न नउठोस् भन्नका लागि अब सबै राजनीतिक दलको सहमतिमा मुलुकको स्पष्ट परराष्ट्र नीति निर्माण गरेर अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्