Logo

ओलीको पेलाईमा परेका रावल अब के गर्ने भनेर राय लिन भोलि सुदुरपश्चिम प्रदेश जाँदै



काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । पछिल्लो समय अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई वास्ता नगरेको र दश बुँदे सहमति कार्यान्वयन गर्नपनि चासो नदिएको चर्चा भएको छ।

पार्टीको सुदुरपश्चिम प्रदेशको ईन्चार्जमा लेखराज भट्टलाई नै काम गर्न दिनुपर्ने भन्दै अध्यक्ष ओलीले रावललाई उपाध्यक्षको रुपमा सहजीकरण गरिदिन निर्देशन दिएपछि उनी ओलीसँग रुष्ट बनेका हुन् । यो बीचमा रावलले आफूनिकट नेताहरुसँग र सांसदहरुसँग छुट्टै छलफलसमेत गरिसकेका छन् ।

रावलले १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष ओली उदासिन बनेको गुनासो पोखे । अब के गर्ने भन्नेबारे राय लिनको लागि भोलि सुदुरपश्चिम प्रदेश जाने भएका छन् । माधव नेपालले एमाले विभाजन गर्दा रावलले उनको साथ छोडेर अध्यक्ष ओलीलाई साथ दिएका थिए ।

तर, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा सुदुरपश्चिम प्रदेशका सांसदहरुको ठूलो संख्या प्रवेश गरेपछि रावललाई ओलीले वास्ता नगरेको कुरा पनि आएको छ । खासगरी लेखराज भट्ट र कर्ण थापाको कारण रावल ओलीको पेलाईमा परेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्