Logo

उपत्यकाका विद्यालय आंशिकरूपमा खुला



काठमाडौं, भदौ २९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् ।

विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका विद्यालय धमाधम खुल्न थाले पनि निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले काठमाडौं र ललितपुर महानगर शिक्षा समितिले निर्णय गरेपछि मात्रै विद्यालय खोल्ने जनाएका छन् । यद्यपि ती संस्था आबद्ध केही विद्यालयले ठूला कक्षा सञ्चालन गरिरहेका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले उपत्यकाका दुई महानगरपालिकाबाहेक अधिकांश नगरपालिकाले विद्यालय सञ्चालन गरिसकेको बताए । महानगरपालिकाको हकमा औपचारिकरूपमा निर्णय नगरेसम्म विद्यालय खोल्ने अवस्था नभएको उनको भनाइ छ ।

प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले प्याब्सनअन्तर्गत महानगर र नगरपालिका कमिटीले स्थानीय निकायको समन्वयमा विद्यालय खोल्न सक्ने बताए । कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको अवस्थामा विद्यालय खोल्दा समस्या नपर्ने उनको भनाइ थियो ।

तर, काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिकरूपमा निर्णय नगरेसम्म विद्यालय खोल्न सक्ने अवस्था नभएको जिकिर गर्दै उनले भने– ‘तैपनि कोरोना संक्रमण कम भएका र कम विद्यार्थी संख्या भएका महानगरका केही मझौला विद्यालय खुल्न थालेका छन् ।’

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले महानगर शिक्षा समितिले निर्णय नगरी विद्यालय खोल्न नसकिने जिकिर गर्दैै भने– ‘हामीले पर्सि भदौ ३१ गते बैठक राखेका छांै, सोही बैठकले निर्णय गर्नेछ ।’

यसैबीच कामपाले सबैको निर्णयमा एकरूपता भए इन्द्रजात्रापछि मात्र विद्यालय सञ्चालन गर्न अनुमति दिने तयारी गरेको छ । तर, ९ नगरपालिकाले आन्तरिक छलफल गरी विद्यालय सञ्चालन गर्न थालिसकेका छन् । उपत्यकाको गोकर्णेश्वर नगरपालिकाले विद्यालय खुला गरेसँगै दुई महानगरबाहेक सबैले खुला गर्न थालेका हुन् ।

उपत्यकाको गोदावरी, चन्द्रागिरि, शंकरापुर, दक्षिणकाली बूढानीलकण्ठ, टोखा, मनहरालगायतका स्थानीय तहले विद्यालय खुला गरिसकेका छन् । ईश्वरराज ढकालले आजको नेपाल समाचारपत्र दैनिकमा खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्