Logo

बालबालिकालाई खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छः प्रधानमन्त्री



काठमाडौं, भदौ २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् ।

सन्ताउन्नौँ राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरुमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए ।

कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा आत्मसात गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको तथा बालबालिकासम्बन्धी ऐन कानूनहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनले उल्लेख गरेका छन् । नेपालले बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएको ३० पनि वर्ष पुरा भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्