Logo

विप्लवले एमसीसी पक्षधरलाई दिए ज्यानको धम्की, देशमा मुठभेडको खतरा



काठमाडौं, २९ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ कडा रुपमा प्रस्तुत भएका छन् । उनले एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी समेत दिए ।

हिजो खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी समेत दिए । विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बताए ।

निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आएका छन् । यसकारण पनि उनले एमसीसीको विरोध गर्नुलाई स्वाभाविक मानिएको छ ।

नेपाल मामलामा चीन र अमेरिकाबीच टकराव बढ्दै जाँदा कम्युनिस्ट पार्टीहरु एमसीसीको विरोधमा खुल्दै गएका छन् । गैरकम्युनिस्ट पार्टीहरु एमसीसीको पक्षमा खुलेका छन् । कम्युनिस्ट पार्टीहरु चीनसँग नजिकिएको र गैरकम्युनिस्ट पार्टीहरु पश्चिमाहरुसँग नजिकिएको खुल्दै जाँदा एमसीसीको पक्ष वा विपक्षमा ध्रुवीकरण पनि यसरी नै बन्दै गएको छ ।

एमसीसीकै विषयले नेपालमा अमेरिका र चीनबीच टकराव बढ्दा देशभित्रका शक्तिबीच पनि नयाँ द्वन्द्वको खतरा बढेको छ ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्