Logo

ओली-रावल द्वन्द्व



काठमाडौं, २९ भाद्र । नेकपा एमालेमा नयाँ द्वन्द्व सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच द्वन्द्व सुरु भएको हो ।

ओलीले पार्टी विभाजनको विपक्षमा उभिएका विरोधी समूहलाई साथमा लिन १० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धता जनाएपनि हुबहु नगर्ने स्पष्ट पारेपछि विवाद निस्किएको हो । सहमति अनुसार नेताहरु २ जेठ २०७५ मा जुन भूमिकामा थिए त्यहीमा रहने थिए । तर, उपाध्यक्ष रहेका रावल सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा कायमै राख्न ओली तयार भएनन् ।

सुदूरपश्चिममा माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई ओलीले इञ्चार्ज राखे । आफूनिकटस्थ कर्ण थापालाई अध्यक्ष राखे । त्यसप्रति रावल रुष्ट भएका छन् । उनले १० बुँदे कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।

विधान महाधिवेशनमा सहभागी हुनेमध्ये १० प्रतिशत मनोनित गर्ने ओलीको निर्णयप्रति पनि रावललगायत समूहको असन्तुष्टि देखिएको छ । ओलीले पकड बलियो बनाउने उक्त निर्णय लिएको बुझाई उनीहरुको छ ।

रावल सुदूरपश्चिम पुगेर निकटस्थसँग छलफल गर्दैछन् । उनले अब कसरी बढ्नेबारे निर्णय लिने बुझिएको छ । सुदूरपश्चिम रावलको पकड क्षेत्र हो ।

माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएर रावलले धोका दिएको विषय पनि उठाउने गरिएको छ । नेकपा एसका नेताहरु अहिले रावलले धक्का खाएको भन्दै पालैपालो अरुलाई पनि किनारामा पार्दै ओली बढ्ने बताउन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्