Logo

‘अब अदालतले देश चलाउने दिशातर्फ देश जाँदैछ, यस्तो भयो भने संसद्को औचित्य समाप्त हुन्छ’ : डा. भीमबहादुर रावल



नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने भनेर कतैपनि नभनेको स्पष्ट पारेका छन् । तर, मिडियामा गलत प्रचार भएको उनको टिप्पणी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ नेता रावलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले) मा फेरी पनि विवाद भयो, १० बुँदे पनि कार्यान्वयन नहुने भनेर अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरिसक्नुभयो, अब तपाईं के गर्नुहुन्छ ?

होईन, यो कुरा प्रायोजित समाचार हो । त्यो सत्य होइन् । १० बुँदे धमाधम कार्यान्वयन भइरहेको छ । केही समस्या रहेका छन् । त्यसलाई समाधान गरेर अघि बढ्ने कुरा भएको छ ।

सुदुरपश्चिम प्रदेशको कुरा गर्दा लेखराज भट्ट र कर्ण थापालाई सम्पुर्ण अधिकार दिइयो, तपाईंकै प्रदेशमा तपाईं अधिकारविहीन हुनुभयो, अनि कसरी समाधान हुन्छ ?

यो सब झुटो प्रचार हो । प्रायोजित समाचार हो । तपाईंहरुले भन्नु भएजस्तो होइन । दश बुँदे एउटा कार्यदलको लामो अभ्यास, नेताहरुको सहमति, त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ । त्यसकारणले गर्दा यसको कार्यान्वयनको प्रक्रिया आरम्भ भइसकेको छ । तपाईंले भनेजस्तो सुदूरपश्चिममा केही समस्या देखापरेका छन् । ती समस्यालाई पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटीको निर्णयबमोजिम अगाडि बढाउनुपर्छ । र, मैले संयोजन गरेर त्यसको निकास खोज्छौं । यसमा अगाडि बढौं भन्ने कुरा पार्टी अध्यक्षले मलाई भन्नुभएको छ । यसमा समाचार आएको जस्तो केही होइन् ।

कसरी प्रायोजीत समाचार हुन्छ ? कर्णाली प्रदेशमा युवराज ज्ञवालीलाई पूर्ण अधिकार तर भीम रावललाई सुदुरपश्चिम प्रदेशमा अधिकार दिइएन, यो त साँचो हो नि ? भीम रावलले उपाध्यक्षको रुपमा मात्र काम गर्ने अरे ? तपाईं तयार हुनुहुन्छ ?

त्यो गलत कुरा हो । जसरी तपाईंले मान्दिनुभएका हाम्रा उपाध्यक्ष युवराज ज्ञवालीजीले काम गर्नु भयो । मैले पनि त्यसरीनै गर्ने हो । तर, के छ भने यो लामो समयको अन्तरविरोध एक–अर्काप्रतिको मनमुटाब, एक–अर्काप्रतिको अविश्वास सुदुरपश्चिममा अवश्य छन् । ती हट्नपर्छ भन्ने मेरो मान्यता रहेको छ । किनभने नेकपा (एमाले) लाई बलियो बनाउनुपर्नेछ । मैले तपाईंहरुकै माध्यमबाट सुनें एमसीसीकी उपाध्यक्षले एमसीए नेपालका कर्मचारीलाई हप्कीदप्की गर्नुभयो भन्ने । मैले यो कुरा किन भनेको भन्दा कोही–कोही विद्धानहरु भन्छन्, एमसीए नेपाल त नेपाल सरकारको मातहत छ । अनि नेपाल सरकारको मातहतमा रहेको भए त्यसका कर्मचारीलाई कसरी हप्काए त ? यस्तो जटिल अवस्थामा नेकपा (एमाले) लाई बलियो बनाएर देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने आवस्यकता रहेको छ । किनभने राष्ट्रिय स्वाधिनता व्यक्तिको हितभन्दा सर्वोपरी छ । हामी पार्टीको हितलाई देशको हितको अधिनमा राख्न चाहान्छौं । त्यसकारण समस्याहरु केही छन् । तर, ती समस्याहरुलाई हामी पार्टीलाई बलियो बनाउने दृष्टीकोणबाट सम्बोधन गरेर अघि बढ्छौं ।

तर, केपी ओलीले १० बुंदे कार्यान्वयन हुन सक्दैन, भीम रावलले भन्दैमा हुँदैन भन्नुभएको छ नी ?

त्यस्तो होईन । म त्यहीँ बैठकमा थिएँ । उहाँले भन्नुभएको कुरा के हो भने–हामीले बुँदा नम्बर दुईमा हाम्रा सबै पूर्ववत कमिटीहरु क्रियाशील हुने भनेको छ, सँगै बुँदा नम्बर चारमा पार्टी एकीकरण भइसकेपछि नेकपा (एमाले) सँगै रहनुभएका नेकपा (माओवादी) को पृष्ठभभूमीमा रहनुभएका साथीहरुलाई पनि हामीहरुले यथोचित रुपमा सम्बोधन गर्नुपर्छ भन्ने कुरामा उहाँले जोड दिनुभएको हो । त्यो त हामीले कार्यदलमै निकास दिइसकेका छौं । त्यसकारणले गर्दा यी दुइवटा कुराको सन्तुलन मिलाउनुपर्छ भन्ने दृष्टीकोण उहाँको अवश्य हो । तर, जुन प्रकारले समाचार प्रकाशन गरियो त्यसमा कुनै सत्यता छैन् ।

केपी ओलीले तपाईं जहाँ गएपनि जानुहोस, सुदुरपश्चिममा लेखराज भट्ट नै हो मेरो आधिकारीक व्यक्ति भनेर तपाईंको अपमान गर्नुभयो भन्ने कुरा आएको छ त ?

हा..हा..हा, यो यस्तो होला ? तपाईंलाई कुनै व्यक्तिले खुसुक्क आफ्नो मनको कुरा भन्यो होला । तपाईँले त्यही भन्नुभयो होला । म देश र जनताप्रति प्रतिबद्ध भएको मान्छे भएकाले मेरो आफ्नो स्थान के हुन्छ भन्ने कुुरामा मैले कहिल्यै महत्व दिँदैन । मैले हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको हितलाई महत्व दिन्छु । जनताकासामु हामीले जुन वाचा र प्रतिज्ञा गरेका छौं, जुन पार्टीले हामीलाईं यो ठाँउमा पुर्याएर नेता, प्रधानमन्त्री र उप–प्रधानमन्त्री बनायो ठुलाठुला ठाँउमा पुर्यायो । त्यो पार्टी र देशलाई कसरी जोगाउने भन्ने मेरो देह छ । तर, कतिपय मान्छेहरुले मेरा बारेमा झुटा प्रचार गर्छन् । लोकतन्त्रमा प्रचार गर्न पाइन्छ, तर समयको क्रमसँगै तथ्यहिन बन्ने कुरा पुष्टी हुन्छ ।

तर, तपाईं र कर्ण थापाको बीचमा जुन किसिमको द्वन्द्व छ, त्यसले १० बुंदे कार्यान्वयन हुँदैन भन्छन् नी ?

यो कुरा मलाई थाहा छैन् । मेरो व्यक्तिगत रुपमा कसैसँग पनि द्धन्द्ध छैन् । मेरो आरम्भदेखि नै तपाईंले हेर्नुभएको छ भने म राष्ट्रियताको कुरा उठाउँछु, जनताका अधिकार र राष्ट्रिय स्वाधिनताका कुरा उठाउँछु । पार्टीको विधि र पद्दतीको कुरा उठाउँछु । पार्टीको घोषित नीति अनुसार व्यक्ति चल्नुपर्छ । हामी जनताको अगाडि एउटा कुरा र व्यवहारमा अर्को कुरा गर्ने गर्नुहुँदैन भन्ने मेरा नीतिगत कुरा हुन् । मैले जनतासँग के वाचा गरेर आएको छु त्यो कुरा गर्नतिर लाग्छु । को मान्छेले मसँग रिसिईबी गर्छ मैले यस्ता कुरामा ध्यान राख्दैन ।

तर, माधव नेपाल छोडेर एमालेमै बसेका तेस्रो धारका नेताहरु अहिले जिम्मेवारीविहीन त हुनुभएको हो नि, होईन र ?

कोही पनि जिम्मेवारीविहीन हुनुभएको छैन । सबै आ–आफ्नो काममा हुनुहुन्छ । पार्टी यतिवेला विधान महाधिवेशनको तयारीमा जुटेको छ । अब हामीले पार्टी चलाउँदा विगतमा के कुरामा गल्ती भएका छन्, आगामी दिनमा गल्ती नदोहोरिउन भन्नेतिर लाग्छौं । मैले फेरी तपाईंलाई एमसीसीको उदाहरण दिन चाहन्छु । एउटा कुनै देशको संस्थानको उपाध्यक्ष आएर जाने बेलामा यसमा नेपालमा राजनीति भयो भन्नुभयो । आफुले चाँही नेताहरुको घरघरमा गएर भेट्ने अनि राजनिती गर्याे भन्ने ?

एमसीसी अस्विकार भए नेपालमा वैदेशिक सहयोग रोकिने कुरा पनि आएको छ नि ?

यो कुरा सुनेपछि के कुरा प्रष्ट भयो भने–एमसीसी भनेको सामरिक र रणनीतिक उद्देश्यबाट नेपालमा थोपर्न लागिएको रहेछ । यदि उँहाले यसो भन्नुभएको हो भने नेपाली जनताले अब बुझनुपर्छ की यो सैनिक प्रकृतिको हो । होईन भने कुनै देशले यो मैले दिएको सहयोेग लिने भए ले नत्र मैले ठिक गर्छु भन्छ त ? म के भन्ने चाहन्छु भने हामी २/३ वर्ष कसैसँग सहयोग नलिउँ । के हुँदो रहेछ हेरौं ।

तर एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालले प्राप्त गर्ने कुल वैदेशिक अनुदानमध्ये ६० प्रतिशत प्रभाव पार्नसक्ने अमेरिका हो, त्यसैले खेलाँचीको रुपमा नलियोस भन्नुभएको छ ?

हाम्रो अमेरिकासँग के शत्रुता छ र ? खेलाँची हो की होइन भनेर हामीले किन भन्ने ? कति देशमा सेना आएर कब्जा गर्याे । ७० वर्षसम्म लडेर शक्तीहरुलाई हराएका हामीले देखाएका छैनौ ? हामी नलिउन न ३ वर्ष । के हुँदो रहेछ नेपालमा ? तीन वर्षसम्म जसले निस्वार्थ रुपमा सहयोग गर्छन् त्यसलाई अघि बढाउँ । त्यसपछि हाम्रो साधनस्रोत जति छ, त्यति गरौं । के हुँदो रहेछ हेरौ न ?मान्छेलाई धाकधम्की दिएर अनि तर्साएर नेपालको स्वाधिनतामाथि कुठाराघात गर्न पाइन्छ ?

आजको दिनमा अमेरिकाको सहयोग नलिँदा पनि हुन्छ भन्ने तपाईँको भनाई हो र ?

म यति कुरा ढुक्क भन्न सक्छु–नेपालको साधनस्रोत प्रयोग गर्ने । भ्रष्टाचार नियन्त्रण गर्ने । खरबौ रकम पानीसरह बगेको छ, त्यसलाई नियन्त्रण गरेर ३ वर्ष परीक्षण गरौं न । राजनीतिमा हामीले लोकतन्त्र की गणतन्त्र, बहुदल की संघीयता अनेक प्रयोग गरिसक्यौं । आर्थिक क्षेत्रमा पनि गरौं । कसैको ५० करोड डलरको अधिनमा नेपालको स्वतन्त्रता गुमाएर नेपाल उपनिवेश हुनसक्छ ? के हाम्रा पुर्खाहरुले विदेशी सहयोग लिएर बाँचेका थिए ? पृथ्वीनारायण शाहले बिदेशी सहयोग पाएर नेपालको एकीकरण गरेका थिए ? त्यसकारण यो शासन सत्ता चलाउनेहरु कति देशभक्त छन्, कति राष्ट्रलाई आफ्नो ख्ट्टामा उभ्याएर अगाडी बढ्ने आँट गर्छन् भन्ने कुरामा निर्भर हुने कुरा हो । त्यसैले अर्कालाई तर्साएर वा धम्काएर हाम्रो सहयोग स्विकार गर नत्र खतम गरिदिन्छु भन्ने कुराबाट प्रष्ट हुन्छ की यो देशलाई पराधिन बनाउन खोजेको रहेछ । यसबाट यो कुरा प्रमाणित हुन्छ ।

तपाईंहरुले किन संसद अवरुद्ध गरिरहनु भएको छ ? संसदीय व्यवस्था ध्वस्त पार्न खोज्नुभएको हो ? कहिलेसम्म संसद चल्न दिनुहुदैन ?

संसदलाई बन्धक बनाउने कुरा भएन । त्यहाँ केही अन्तरविरोधहरु रहेका छन् । नियम र कानूनका विषयहरु उठेका छन् । अब यस्तो कुराहरुमा सभामुखलगायत सबैले आपसमा बसेर त्यसको उचित निकास निकाल्नुपर्छ । हाम्रो प्रतिनिधीसभा, हाम्रो लोकतन्त्रलाई बलियो बनाउने काम हाम्रो हो । यदि यो संसद्ले निकास पाउन सकेन, हामीले जिम्मेवार भुमीका खेल्न सकेनौ भने कस्ले निकास दिन्छ त ? प्रतिनिधिसभा भनेको त नेपाली जनताको आवाज बोल्ने ठाउँ हो । अहिले त सबै राजनीति मुद्दाहरु अदालतमा लगेर अब अदालतले देश चलाउने दिशातर्फ देश जाँदैछ । यस्तो भयो भने संसद्को औचित्य समाप्त हुन्छ । त्यसैले हामी सबै मिलेर लाग्यौं भने संसद् बन्धक हुँदैन् ।

बाँकी भिडिओमा :



प्रतिक्रिया दिनुहोस्