Logo

चीनसँग सीमा समस्याबारे अध्ययन गर्न हुम्ला होमिएको टोली के गर्दैछ



काठमाडौं, २९ भाद्र । चीनले कहाँ कति सीमा मिचेको अध्ययन गर्न प्राविधिकसहित हुम्लामा खटिएको सरकारी टोली यतिबेला सीमा क्षेत्रमा सक्रिय छ । चौंथो दिन पनि टोली सीमा पुगेर पिलर र नो म्यान्स ल्यान्डको ठिक ठाउँमा छ कि छैन अध्ययन गरिरहेको बुझिएको छ ।

अध्ययन टोली चौंथो दिन पनि सक्रिय रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले जानकारी दिए । चीनसँगको सीमा समस्या देखिएको पिलरहरु रहेको स्थानबारे समेत टोलीले गम्भीरतापूर्वक अध्ययन भइरहेको बुझिएको छ ।

चीनले पिलर नेपालतर्फ सारेको जनप्रतिनिधि र स्थानीयको भनाई रहँदै आएको छ । चीनले नेपाली भूमिमा संरचनाहरु समेत बनाइसकेको छ । नेपाली भूमि मिचेर तारबार समेत लगाइएकोबारे टोलीले गम्भीरतापूर्वक अध्यन गरिरहेको बुझिएको छ ।

हुम्लाका प्रदेश सभा सांसद जीवनबहादुर शाहीले यो विषयलाई जोडदार रुपमा उठाएपछि केन्द्र सरकारबाट अध्ययन टोली नै गठन भएको थियो । टोली चार दिन अघि विहानै सिमिकोटबाट हिंडेको थियो ।

गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वको टोली नापी विभागका उपसचिव, विज्ञ र सुरक्षाकर्मीसहित खटिएको छ । टोलीले सीमाबारे प्राविधिक टोलीमार्फत् यथार्थ विवरणहरु धेरै संकलन गरिसकेको बुझिएको छ ।

प्राविधिक टोली समेतको अध्ययन पछि राजधानी आई प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने छ ।

यसैगरी, नाम्खातिर सरकारी अध्ययन टोली पुग्दा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामा काठमाडौं आएको घटनाले तरंग ल्याएको छ । उनले शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता समेत गरेका थिए । लामाले केही गोप्य भेटहरु समेत गरेको बुझिएको छ ।

एक हप्ता काठमाडौंको बौद्ध क्षेत्रमा बसेर उनी आइतबार फर्किएका थिए । उनले रिपोर्टर्स नेपालसँगको कुराकानीमा व्यक्तिगत कामले आएको बताएका थिए ।

सरकारले चीनसँग ४ जिल्लाका ११ स्थानमा सीमा मिचिएको विवरणका आधारमा सीमा समस्याबारे अध्ययन गर्न १६ भाद्रको मन्त्रिपरिषदको बैठकबाट कमिटी गठन गरेपछि केन्द्रको राजनीति समेत तरंगित भएको छ । टोली सिधै सबैभन्दा विवादित बनेको हुम्लाको नाम्खातर्फ पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्