Logo

काभ्रेमा कोरोना सङ्क्रमण दर घट्दै



काभ्रेपलाञ्चोक, २९ भदौ: रोशी गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको छ ।

शनिबार दुई जना सङ्क्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक-एक सङ्क्रमित रहेका छन् । शनिबार सङ्क्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक सङ्क्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले जनाएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो हप्ता दैनिक रुपमा कोरोना सङ्क्रमण दर घटिरहेको देखिएको छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये हाल एक गाउँपालिका सङ्क्रमणमुक्त देखिएको हो । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना सङ्क्रमित देखिएका छन् भने १९ जना सङ्क्रमणमुक्त भएका छन् । जिल्लामा हाल १८२ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ५१, धुलिखेलमा ३७, पाँचखालमा २५, पनौतीमा ३५, नमोबुद्धमा १५, मण्डनदेउपुरमा तीन तथा भुम्लु तीन, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा दुई जना रहेका छन् ।

आइतबार दुई सङ्क्रमित हुँदा ३९ जना सङ्क्रमणमुक्त भएका छन् । शनिबार १७ जनामा सङ्क्रमण देखियो थियो भने १९ जना सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै, जिल्लामा शुक्रबार ११ सङ्क्रमित थपिँदा ३५ जना सङ्क्रमणमुक्त भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्त हुने दर अधिक रहेको देखाएको हो ।

काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा सङ्क्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ सङ्क्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा आउँदो असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्