Logo

मनाङमा हेलिकोप्टरमार्फत् विद्युत्का सामग्री ढुवानी



मनाङ, २९ भदौ: विकट हिमाली जिल्ला मनाङमा बाढीपहिराका कारण तीन महिनादेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।

भत्किएका सडक मर्मत तथा निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्णरुपमा प्रभावित भएका छन् । लामो समयदेखि सडक सञ्जाल निर्माण नहुँदा दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरेर जलविद्युत्का सामग्री ढुवानी गरिएको छ ।

तीन महिनादेखि डुम्रे–बेँसीशहर–चामे सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडकमार्फत् सवारीसाधन मात्रै नभई बटुवासमेत आवतजावत गर्नसक्ने अवस्थामा छैन । लघु जलविद्युत् आयोजनामा निर्भर मनाङमा उज्यालोका लागि युवाले सहयोग पु¥याएका छन् ।

राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको विद्युत्मा पनि बाढीपहिराले क्षति पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएको जलविद्युत् मर्मतका लागि हेलिकप्टर चार्टर गरी आवश्यक सामग्री ढुवानी गरिएको समाजसेवी विनोद लामाले जानकारी दिए ।

चामे लघु जलविद्युत् आयोजना मर्मत तथा सम्भार र निर्माणका लागि हेलिकप्टर चार्टर गरी आवश्यक पाइपलगायत सामग्री ढुवानी गरिएको लामाले बताए । हेलिकप्टरमार्फत बेँसीशहरबाट सदरमुकाम चामेसम्म उक्त सामग्री ल्याइएको उनले बताए ।

गण्डकी प्रदेश सरकारबाट सरकारी कार्यालयको सेवा प्रवाहको सहजताका लागि सौर्य ऊर्जा जडान गरिएको छ तर सरकारी कामकाजका लागि सहज भए पनि सर्वसाधारण हालसम्म पनि अन्धकारमा रहँदै आएका छन् । चामेवासीलाई लघु जलविद्युत् आयोजना मर्मत भएपछि बिजुलीको उपलब्ध हुनेछ ।

लामो समयसम्म सौर्य ऊर्जाले धान्नसक्ने अवस्था नरहेकाले जलविद्युत् आयोजनाको निर्माणका लागि वैदेशिक रोजगारीमा रहेका चामेवासीले सहयोग पु¥याएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए । उनले वैदेशिक रोजगारीमा दक्षिण कोरियमा रहनुहुने दाजुभाइ दिदीबहिनीप्रति आभार व्यक्त गरेका छन् ।

सदरमुकाम चामेदेखि भ्राताङसम्म विसं २०७७ माघमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । मनाङमा लमजुङको मस्याङ्दी–५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे–१ स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनीयर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले मनाङस्थित प्रसारण लाइन मर्मत कार्य थालिएको बताए । उनका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ ।

बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरको ११६ वटा खम्बा, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा खम्बामा क्षति पु¥याएकोे छ । चार सय भोल्टको ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । यी स्थानमा हेलिकप्टरबाट मात्रै सामग्री ढुवानी गर्न सकिने भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्