Logo

१० बुँदे सहमति कार्यान्वयन हुनेमा रावल विश्वस्त, माधव नेपालहरुलाई चुनावमा जनताले देखाईदिने टिप्पणी



काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले १० बुँदे सहमति कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएका छन् । आज (मंगलबार) धनगढीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका छन् । एमाले विभाजन भएपछि रावल पहिलोपटक सुदुरपश्चिम प्रदेश पुगेका हुन् ।

पार्टी एकता जोगाउनको लागि रावल पनि संयोजक रहेको कार्यदलले १० बुँदे सहमति गरेको थियो । तर, माधव नेपालले उक्त सहमतिलाई लत्याएर एमाले विभाजन गरेका थिए ।

नेकपा हुँदै एमालेसम्म आईपुग्दा रावलले सुरुदेखि नै माधव नेपाललाई साथ दिएका थिए । तर, पार्टी विभाजन गर्ने बेलामा भने उनले नेता नेपाललाई साथ दिएनन् । बरु, अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गरेको पनि आरोप लागेको थियो ।

उनले यो आरोपमा कुनै सत्यता नरहेको जिकिर गर्दै आएका छन् । पछिल्लो समय अध्यक्ष ओलीले पनि दश बुँदे सहमति लत्याएको र रावललाई पेल्न थालेको समाचार आएपछि रावल सुदुरपश्चिम प्रदेश पुगेका हुन ।

उनले धनगढीमा आयोजित कार्यक्रममा भने,‘१० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ, केही स्वार्थी पदका लोभीहरुले आफनो भाग खोसिने डरले अनेकन हल्ला गरिरहेका छन् त वास्तविकता त्यस्तो होइन ।’

उनले आफूहरु राष्ट्रिय हित र स्वाधिनतको पक्षमा सधैं बुलन्द आवाज उठाउने पनि जनाए । उनले पार्टी विभाजन गर्नेहरुप्रति आक्रामक अभिव्यक्ति दिए । उनले एमालेबाट चुनाव जितेका अहिले नयाँ पार्टी खोलेकाहरुलाई आउने निर्वाचनमा जनताले दण्डित गर्ने पनि टिप्पणी गरे । file photo



प्रतिक्रिया दिनुहोस्