Logo

चीनको बढ्दो ध्यान नेपाल, भारत र भुटानको सीमातिर



काठमाडौं, २९ भाद्र । हुम्लामा चीनले सीमा मिचेको विषय उठेपछि सरकारले गठन गरेको अध्ययन कमिटी यथार्थ पत्ता लगाउन खटिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमामा भूमि मिचिएको विषयले काठमाडौंको राजनीति गर्माएको छ ।

यही बेलामा चीनको ध्यान नेपाल, भारत र भुटानसँगको सीमा क्षेत्रमा बढेको खुलेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नै तिब्बतको उचाईमा खटिएका सीमा सुरक्षा बलबारे चासो लिएका छन् । चीनको जनमुक्ति सेना अन्तरगत प्लेटु स्टेटन मोडल बटालियनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले पत्र लेखेरै प्रशंशा गरेका छन् ।

चिनियाँ विदेश मामलासम्बन्धी धारणा बाहिर ल्याउने गरेको ग्लोबल टाइम्सले सीले तिब्बतको पठारमा खटिएका जनमुक्ति सेनालाई सम्बोधन गर्दै पत्र लेखेको खबर सार्वजनिक गरेको छ । सीले तिब्बत क्षेत्रको उच्च भूभागमा खटिएको बटालियनलाई शुभकामना दिदै देशको सीमा सुरक्षाका लागि प्रोत्साहित गर्ने गरी लेखेको उल्लेख छ ।

पत्रमा युवापन र रगत शब्द समेत उल्लेख रहेको ग्लोबल टाइम्सले भनेको छ । कठिन भूभागमा ज्यान जोखिममा राखेर युवा जोस र रगतले देशको पवित्र भूमीको सुरक्षा गरेको भनेका छन् । देश र सीमाको रक्षामा थप योगदान दिने आशा समेत पत्रमा व्यक्त गरेको उल्लेख छ । सीले नमूना मानिएको तिब्बतको पठारको फौजलाई पाँच वर्षपछि शुभकामना र सम्मानसहितको पत्र पठाएका हुन् ।

तिब्बतस्थित बटालियन उच्च भूभागमा अवस्थित रहेको ग्लोबल टाइम्सले लेखेको छ । सन् १९६१ मा स्थापना भएको बटालियन अधिकांश हिमालको समेत सुरक्षामा खटिने गरेको उल्लेख छ । जसमा १० वटा ५००० मिटर माथिका हिमाल रहेका छन् । ६९०० मिटर माथि समेत फौज बसेको छ ।

तिब्बतको सम्पूर्ण सीमा क्षेत्रको सुरक्षामा बटालियनको जिम्मेवारी छ । जसमा भारतसँग झडप भएको लद्दाखको क्षेत्र पनि छ । भुटानसँग विवाद भएको भूभागमा पनि यही बटालियन तैनाथ छ । नेपालसँग सीमा समस्या भएको हुम्लालगायतका क्षेत्रमा पनि यही बटालियन तैनाथ छ ।

सी आफै केही महिना अघि तिब्बतको भ्रमणमा पुगेका थिए । उनले त्यहाँको पूर्वाधार विकासमा चासो समेत राखेका थिए । पछिल्लो समय उनको तिब्बततिर ध्यान बढ्दै गएको छ ।-Photo Source: CCTV



प्रतिक्रिया दिनुहोस्