Logo

रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी



वीरगञ्ज, भदौ ३० । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा थालेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहका लागि हिँडेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधवारसम्म वीरगञ्ज आइपुग्ने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले बताएको छ ।

नेपालमा रेलवेमार्पmत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताए । ‘रेलवे ढुवानी सेवामा निजी कम्पनी भित्रिएपछि एकाधिकारको अन्त्य भएको छ । यसले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ,’ उपमहावाणिज्यदूत भट्टले भने ।

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो ।

संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्पmत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।

रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्